पूर्वडीआईजी जोशीको घरमा प्रहरीको छापाः उनकै घरबाट हुन्थ्यो जीबी राईको सहकारीको काम

काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको काठमाडौंको शंखमूलस्थित घरमा प्रहरीले बुधबार बेलुका छापा मारेको छ। पोखरा प्रहरीको आग्रहमा जिल्ला प्रहरी परिसर, काठमाडौंले जोशीको घरमा छापा मारेको हो।

नेचर हब इन्टरनेश्नल प्रा.लि.को कार्यालयसमेत सञ्चालनमा रहेको उनको घरबाट प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद गरेको जनाईएको छ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ। संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन्।

अनुसन्धानका क्रममा, जोशीको घरमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषयहरु भएको खुलेपछि उनको घरमा छापा मारिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन्। पूर्व डीआईजी जोशी अवकाशपछि नेटवर्किङ ब्यबसायको साझेदार बनेर जीवी राईको समूहमा पुगेका थिए। उनीहरुको समूहले सुरु गरेको ग्यालेक्सी टीभीमा सुरुवाती समयमा उनी उपाध्यक्ष थिए।

०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर कायम हुँदा ५० प्रतिशत सेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत सेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत सेयरसहित लामिछाने टेलिभिजनको प्रबन्ध निर्देशक थिए। ४ करोड २० लाख रुपैयाँको उक्त सेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी उनी बाहिरिएका हुन।

जोशीको घरमा रहेको नेचर हर्ब प्रालिको कार्यालयबाटै सूर्यदर्शन सहकारीका सम्पूर्ण कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ।

पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायतमाथि जाहेरी दिएका छन। जीबी राई समूहले पोखराका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ।

पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनका आधारमा सहकारीका सञ्चालक, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। जसमा चार जना पक्राउ परेका छन्, बाँकी फरार छन। फरारमध्ये जीबीसहित तीनविरुद्ध डिफ्युज नोटिस जारी भइसकेको छ।

पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ। ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा पनि सहकारीबाट गैरकानुननी रूपमा ऋण प्रवाह भएको, तत्कालीन समयमा लामिछाने उक्त कम्पनीका प्रबन्ध निर्देशक रहेको र लामिछानेको नाममा समेत ऋण प्रवाह भएको देखिएकाले पुनः अनुसन्धानको माग गरी जाहेरी दिएको संघर्ष समितिले जनाएको छ।

पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट