अर्काको नागरिक्तामा आफनो फोटो टाँसी म्यान पावर खोलेर ठगी गर्ने ज्वाई–ससुरा पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पठाई दिनेभन्दै ५५ जनाबाट ६३ लाख ठगी गरेको आरोपमा प्रहरीले सर्लाही हरिवन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका–९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–२ नक्टाजिच घर भई हाल ललिपुर–१८ बस्ने २७ वर्षीय रामसेवक सिंहलाई पक्राउ गरेको छ।

दुई जना पक्राउ परेपछि प्रहरीले अनुशन्धान गर्ने क्रममा उनीहरुको ठगी धन्दा अपरम्पार रहेको देखिएको छ। विदेश जानका लागि धनुषाका सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाण पत्रमा रामेश्वरले आफनो ज्वाईँ रामसेवकको फोटो टाँसेर ३ वटा म्यानपावर कम्पनी नै खडा गरेर ठगी धन्दा चलाएको प्रहरीले खुलासा गरेको छ।

मंगलबार ललितपुर–९ मिलन टोलबाट पक्राउ परेका उनीहरूले राजकुमार बजगाईंसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र युरोप पुगेपछि मासिक १ लाख ५५ हजार रुपैयाँ तलब हुने भन्दै उनीहरुले पैसा संकलन गरेको पाईएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीका अनुसार पैसा संकलन गरेपछि दुवै जना सम्पर्कविहिन भए। केसीका अनुसार रामेश्वर सिंहले आफूलाई सरोज यादव र नागेन्द्र यादव बताउने गरेका थिए भने रामसेवकले आफूलाई सरोज यादव बताउथे ।

रामसेवक रामेश्वरका ज्वाइँ हुन्। उनीहरूले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर विराट कन्सल्टेन्सी बिर्तामोड, गडिमाई कन्सल्टेन्सी काठमाडौँ र कमलामाई कन्सल्टेन्सी दर्ता गरेको खुलेको छ। ओभरसिजबाट उनले रोमानिया, जर्मनी, अफगानिस्तान, क्रोएसिया पठाउने भनी ४८ जनाबाट प्रतिव्यक्ति सात लाख रुपैयाँसम्म उठाएका थिए।

एसपी केसीका अनुसार ०७४ ताका रामेश्वर बजाज ओभरसिजका कर्मचारी थिए। पछि उनले आफैं भेरी ओभरसिज किनेर सञ्चालन गरे। त्यसबाट उनले २ सय जनाबाट तीन करोड ठगी गरेको पाइएको छ। त्यो प्रकरणमा उनी डेढ वर्ष जेल पनि बसेको खुलेको छ।

भेरी ओभरसिजमै धनुषाका सरोज, नागेन्द्र र गुरुदेवले दिएको नागरिकता दुरुपयोग गरी उनीहरुले कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकास बैंकमा खाता खोलेको भेटिएको छ। ती तिनै बैंकमा कारोबार भने रामसेवक सिंहले गर्ने गरेको खुलेको छ।

कृषि पेशा गरेर वसिरहेका सरोज, नागेन्द्र र गुरुदेवलाई भने यस विषयमा जानकारी थिएन। तर, पीडितहरुले तीनै जनाको नाममा उजुरी दिन थालेपछि अनुसन्धानका क्रममा यो प्रकरण वाहिर आएको हो। रामेश्वरविरुद्ध ०७८ सालमा पनि ठगी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा उनी फरार थिए।

०७९ सालमा सिन्धुली जिल्लामा लागूऔषध मुद्दा चलेकोमा उनलाई २४ दिन कैद भएको थियो। हाल पक्राउ परेका दुवै जनाकोसाथबाट विभिन्न व्यक्तिका नाममा काटिएको ६० लाख बराबरको २५ थान चेक र ९ वटा सिम कार्ड फेला परेको छ। दुवैविरुद्ध ठगी, किर्ते जालसाजी, बैकिङ कसुरलगायतका मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट