काठमाण्डौमा यसवर्षकै सवैभन्दा जाडो, सन १९७८ मा माईनसमा पनि झरेको थियो तापक्रम
काठमाडौं– काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो।
शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ। यसअघि माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिँउदे वर्षा नभएपनि माथिल्लो तहमा चिसो बादल आएकाले मौसम चिसिएको छ। त्यसैले उपत्यका लगायत देशैभर जाडो झन् बढ्दो क्रममै छ।
यद्यपि लामो समयदेखि हिउँदे वर्षा नभएकाले यो वर्ष अघिल्ला वर्षहरुको तुलनामा कम जाडो छ। यदि पानी पर्ने हो भने काठमाडौंको न्यूनतम तापक्रम घटेर जाडो झन् बढ्न सक्ने मौसमविदहरु बताउँछन्। तर आगामी तीन दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद गोविन्द झा बताउँछन्।
०७५ साल पुसमा काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको थियो भने सन् १९७८ मा भने काठमाडौंको न्यूनतम तापक्रम माइनससम्म पुगेको रेकर्ड छ।