२० वर्षदेखि फरार हत्यारा पक्राउ गर्न प्रहरीले लियो ‘झारफुक’ को सहारा

विराटनगर– संखुवासभामा २० वर्षअघि भएको एउटा सामुहिक हत्या प्रकरणका फरार प्रतिवादी पक्राउ गर्न प्रहरीले ‘झारफुक’ गर्ने हुलियाको सहारा लिएको छ। सोही हुलियाका आधारमा दुई जनाको हत्यामा संलग्न संखुवासभाको चैनपुर नगरपालिका–३ (साविक सिद्धकाली गाविस–२) की ३५ वर्षिया कैली तामाङ विहिवार पक्राउ परेकी छिन्।

१० फागुन ०६० मा परिवार नै मिलेर दुई जना स्थानीयको हत्या गरेपछि कैली फरार थिईन। उक्त घट्नामा संखुवासभा जिल्ला अदालतको १२ फागुन ०६६ मा फैसला सुनाउँदै कैलीलाई २० वर्ष कैद सजाय गरेको थियो।

त्यस यता प्रहरीको फरार सूचिमा रहेकी कैलीलाई मोरङको केराबारी गाउँपालिका–१० बाट पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले बताए। घट्नापूर्व नै विवाह गरेकी कैली पतिसहित केराबारी–१० स्थित मोहन नेपालको घरमा डेरामा वस्दै आएकी थिईन। उनले आफनो नाम समेत परिवर्तन गरी सरिता तामाङ राखेको डीएसपी दाहालको भनाई छ।

उनका अनुसार कैलीका पतिले झारफुक गर्ने गरेको हुलियाका आधारमा पक्राउ गर्न सहज भएको थियो। संखुवासभा जिल्ला अदालत चैनपुरका स्रेस्तेदार रामचन्द्र केसीका अनुसार साविक शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको १० फागुन ०६० मा हत्या भएको थियो।

पारिवारिक नाता सम्बन्धका ८ जना मिलेर उनीहरुको हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो। सो घटनामा संलग्न कैली पनि एक हुन्। खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कैलीसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे (तामाङ), गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ र लोकबहादुर तामाङ मिलेर मंगल र योगेन्द्रको हत्या गरेका थिए।

मोरङ प्रहरीको सहयोगमा पक्राउ परेकी कैलीलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराई कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी घनश्याम श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट