रविले नारायणकाजीलाई ‘टाइटनिक भेटिएला, तपाईंमा नैतिकता भेटिन्न’ भनेपछि सीआईबी एक्सनमा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत मुछिएको सहकारी घोटालासम्बन्धीको अनुसन्धान फाइल सीआईबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो) ले झिकाएको छ।

उपत्यका बाहिरका प्रहरी कार्यालयमा अनुसन्धानरत फाइल काठमाडौँमा मगाएर थप अनुसन्धान सुरु गर्न थालिएकोसीआईबीका एक जना अधिकृतले बताए। बुटवल स्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको हो।

ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र लामिछानेको संलग्नतामा पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ। सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ। सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ। यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरेको थियो।

लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ। काठमाडौँ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन्। लामिछानेका तर्फबाट सुप्रिम सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा ट्रान्सफर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको २५ करोड रुपैयाँ डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। यसअघि राई र लामिछानेविरुद्ध सहकारी विभागमा पनि उजुरी दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका थिए।

स्रोतका अनुसार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि सीआईबीले जीबी–रवि जोडिएको भनिएको फाईल मगाएको हो। रविविरुद्धको अनुसन्धान अघि बढ्ने संकेत करिब १ महिना अघि नै गृहमन्त्री श्रेष्ठले दिएका थिए। बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएपछि जवाफ दिन भन्दै पुस १६ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको थियो।

राज्य व्यवस्था समितिका सदस्य समेत रहेका रविले गृहमन्त्री श्रेष्ठको नियतमाथि नै प्रश्न उठाएका थिए। बालकुमारी घटनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरीमाथि भएको सरुवा, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको इमान नदेखिएको भन्दै रविले चर्को आलोचना गरेका थिए। त्यतिबेला रविले गृहमन्त्रीलाई भनेका थिए, ‘बरु समुन्द्रमा हराएको टाइटनिक भेटिएला, तर तपाईंमा नैतिकता भेटिन्न।’

गृहमन्त्री श्रेष्ठले रविलाई जवाफ दिँदा उनी बाहिरिसकेका थिए। गृहमन्त्रीले श्रेष्ठले रविलाई भनेका थिए, ‘मलाइ केही पर्छ कि क्या हो। त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरुलाई। अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानूनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर आरोप लगाउन भएन। दोष छ भने कारबाही गर्न सकिन्छ। प्रतिशोध साध्न सकिन्न।’

गृहमन्त्री श्रेष्ठले ‘केही गर्ला कि’ भनेर रविले पहिले नै ‘खुट्टा उचालेको’ समेत टिप्पणी गरेका थिए। ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि भाग्न पाइन्छ कि भन्ने हुन्न। खुट्टा उचाले पनि समाइन्छ। त्यसो गरेर त हुन्न नि !’ गृहमन्त्री श्रेष्ठले भनेका थिए। गृहमन्त्रीले श्रेष्ठले चेतावनीसहित ‘खुट्टा उचाले पनि समाइन्छ’ भनेको १५ दिनपछि नै सीआईबी प्रमुखलाई बोलाएर जीबी–रवि जोडिएको सहकारी प्रकरणको अनुसन्धान गर्न निर्देशन दिएका थिए।

रवि–गृहमन्त्रीको नोकझोकको १० दिनपछि पुस २५ गते गृहमन्त्रीको नेतृत्वमा गृहसचिव, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव, सीआईबीका एआईजी, एसएसपी, सहकारी विभागका रजिष्ट्रार, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो। उक्त बैठकमा पनि सहकारीका समस्या हल गर्नेबारे छलफल भएको थियो।

बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए।

सीआईबीले औपचारिक रुपमा भने यो अनुसन्धानबारे केही बोलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट