सांसद रवि लामिछाने विरुद्ध ठगी प्रकरणमा सहकारी विभागमा उजुरी दर्ता
काठमाडौं– सांसद रवि लामिछाने विरुद्धसहकारी विभागमा उजुरी दर्ता भएको छ। सहकारीमा भएको करोडौं ठगी प्रकरणमा मुछिएका लामिछाने र उनका पूर्वसहकमर्मी जिबी राईविरुद्ध उजुरी दिर्ता भएको हो।
गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध युवराज सफलले सहकारी विभागमा उजुरी दर्ता गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने र राई दुवैविरुद्ध छानबिन र कारबाही मागसहित सफलले उजुरी दर्ता गराएका हुन्। उजुरीमा कानुनबमोजिम हदैसम्मको कारबाही माग गरिएको छ।
‘सहकारी ऐनभन्दा बाहिर गएर कारोबार गरी सहकारीसम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र ग्यालेक्सी टिभीका तत्कालीन सञ्चालक एवम् गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुनबमोजिम हदैसम्मको कारबाही मागसहित यो निवेदन पेस गरेको छु’, सफलले भनेका छन्।
सफलले सहकारीबाट कर्जा झिक्दा गरिएका कर्जा सम्झौताका कागजात र कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णयका प्रतिलिपि वा सक्कल कागज झिकाई अनुसन्धान गर्न पनि ध्यानाकर्षण गराएका छन्।
‘कुनै लिखित सम्झौताबिना कर्जा लिने–दिने कार्य गरेका भए पनि संगठित अपराध, जालसाजी, षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यससम्बन्धी आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पत्राचार गर्नु हुन ध्यानाकर्षण गराउँछु।’, सफलले भनेका छन्।
रवि र जिबीको नाम चितवन, पोखरा र बुटवलमा सञ्चालित सहकारीबाट अनधिकृत रुपमा ऋण निकालेर टेलिभिजनमा लगानी गरेको प्रकरणमा जोडिएको छ।