कांग्रेस सांसदको नोबेल मेडिकल अस्पतालका ३ जना कर्मचारी पक्राउ
विराटनगर– नेपाली कांग्रेसबाट निर्वाचित सांसद सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेजका तीन जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्ने तीनै जना कर्मचारी नगद काउन्टरमा कार्यरत थिए।
२० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अस्पतालले उजुरी दिएपछि उनीहरु पक्राउ परेको जनाईएको छ। मोरङ प्रहरीका अनुसार काउन्टरमा क्यासियरका रूपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार पक्राउ परेका छन्।
उनीहरूको विषयमा आपराधिक विश्वासघात अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनीहरूले काउन्टरमा जम्मा भएको रकम हिनामिना गरेको सेवाग्राहीबाट प्राप्त रकम हिनामिना गरेको आरोप छ।
१० पुसमा पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए।