महिनामै आधा करोड घाटा खाएर किन कुदाउनु पर्यो जनकपुरमा रेल ?
जनकपुर– ०७८ चैतदेखि सञ्चालन हुँदै आएको नेपालको सरकारी रेलसेवा मासिक ५४ लाख रुपैयाँ घाटामा छ। सुरुमा जयनगर–कुर्थासम्म मात्र सञ्चालन हुदै आएको रेल पछिल्लो ६ महिनादेखि महोत्तरीको भंगहासम्म सञ्चालन भईरहे पनि घाटा भने कम भएको छैन।
अधिकांश भारतीय कर्मचारी राखेर सञ्चालनमा ल्याएको रेल सेवा एक वर्षअघिसम्म मासिक ६९ लाख घाटामा थियो। तर, सन २०२२ डिसेम्बरमा नेपाल रेलवे कम्पनी लिमिटेड र भारतीय रेल कम्पनी कोकोन रेलवे कर्पोरेसनबीच भएको नयाँ सम्झौता भयो। जस अन्तर्गत १० जना महंगा भारतीय कर्मचारीको संख्यामा कटौती गरेर मासिक १५ लाख रुपैयाँ खर्च कटौती गरिएको छ।
अहिले नेपाल रेलवे कम्पनीले जयनगर कुर्थाहुँदै भंगहासम्म रेल सेवा सञ्चालनका लागि गेट म्यान, की म्यान, टीटी, पोइन्ट म्यान, टिकट सेलर, कार्यालय सहयोगीसहित १ सय ३ जना कर्मचारी दैनिक ज्यालादारीमा राखेको छ। ती कर्मचारीहरूको तलबमा मात्रै मासिक १७ लाख खर्च हुन्छ।
त्यसैगरी, अहिले पनि १८ जना भारतीय कर्मचारीहरू कार्यरत छन्। ति कर्मचारीमा मासिक ३३ लाख रुपैयाँ खर्च हुने गरेको छ। यसरी नेपाली र भारतीय कर्मचारीको तलबमा मात्रै मासिक ५० लाख खर्च हुने गरेको छ।
त्यसबाहेक इन्धन, वासिङ, मर्मत सम्भार, प्रशासनिक खर्चलगायत गरी रेलवेले मासिक ७९ लाख खर्च गर्दै आएको छ। सरदर रेल सञ्चालन गर्न मासिक १ करोड २९ लाख रुपैयाँ खर्च हुने गरेको नेपाल रेलवेले जनाएको छ।
तर, मासिक औसत ७५ लाख मात्रै आम्दानी भइरहेको कर्मचारीहरु बताउँछन। आम्दानी र खर्चको हिसाब गर्दा नेपाल रेलवेले मासिक ५४ लाख घाटा व्यहोर्दै आएको छ। पछिल्लो २० महिनामा नेपाल रेलवेलाई रेल सञ्चालन गर्दा १० करोड ८० लाख रुपैयाँ घाटा भएको छ।
२ असोज २०७७ मा भारतबाट १ अर्बमा किनेका दुईवटा रेल १९ महिनासम्म थन्क्याउँदा झण्डै ३ करोड नोक्सान भएको थियो। यस हिसाबले नेपाल रेलवे अहिलेसम्म १३ करोड ८० लाख घाटामा रहेको देखिन्छ।
विशेष गरी विकल्प हुँदाहुँदा भारतीय कर्मचारीको भर पर्नु पर्दा घाटा धेरै भएको नेपाल रेलवे कम्पनीका पूर्वइन्जिनियर रवीन्द्र साह बताउँछन्। नेपाल सरकारले चाहेको खण्डमा ती जनशक्तिहरू भारत सरकारको सहयोगमा आफैँ तयार गर्न सक्छ। नेपालसँगै जोडिएको विहार राज्यको हाजिरूपमा रेलसम्बन्धी तालिम दिने इन्स्टिच्युट छ। त्यहाँ तीन महिनाको तालिम गरेपछि स्टेसन मास्टर, रेलचालकसहितको जनशक्ति तयार गर्न सकिने उनको भनाइ छ।
महाप्रबन्धकको सन्कीले डेढ करोड स्वाहा
नेपाल सरकारले ०७७ साल असोजमै १ अर्ब लगानी गरेर दुईवटा रेल खरिद गरेको थियो। रेल सञ्चालनका लागि कम्पनीका तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले १ सय ७ कर्मचारीलाई कोकोन रेलवे कर्पोरेसनका प्रशिक्षकबाट ३० दिनसम्म तालिम दिलाए।
तालिममा १ करोड ३९ लाख रुपैयाँ खर्च भयो। तर, सरकार फेरिएसँगै भट्टराईलाई हटाइयो। राजनीतिक भागवण्डामा नेकपा एसका सप्तरी निवासी निरञ्जन झा महाप्रबन्धकमा नियुक्त भए। उनले आफनो रवाफ देखाउन पुराना तालिम प्राप्त सवै कर्मचारी हटाएर ४९ जना कर्मचारी भर्ना गरे।
उनीहरूलाई पुनः तालिम दिँदा झण्डै ३५ लाख रुपैयाँ खर्च भएको रेलवे कम्पनीले जनाएका छ। त्यसपछि गोप्य रूपमा कर्मचारी थप गर्ने क्रम जारी नै छ। झाले अहिलेसम्म ८० जनाभन्दा बढी ज्यालादारी कर्मचारी रेलवेमा भर्ना गरिसकेको स्रोत वताउँछ।
यसरी झाको सन्किपनले कम्पनीलाई झण्डै डेढ करोड घाटा लागेको कतिपय कचारी वताउँछन्।
जागिर दिने प्रलोभनमा वेरोजगारसँग पैसा उठाएर झ्वाम
नेपाल रेलवे कम्पनीले २९ भदौ २०७७ मा विभिन्न पदमा १ सय २९ कर्मचारीको माग गर्दै सूचना प्रकाशित गरेको थियो। ३२ हजार ६ सय ८६ जनाले दरखास्त बुझाए। जसमा १ करोड ३६ लाख राजस्व उठेको थियो।
तर, दरखास्त संकलनपछि लोक सेवा आयोगले उक्त विज्ञापन रद्द ग¥यो। भर्ना प्रक्रिया नै रद्द भएपनि सर्वसाधारणको पैसा फिर्ता भएको छैन। उक्त पैसा कम्पनीले अन्यत्र खर्च गरिसकेको स्रोतको दावी छ।