पूर्वराजा ज्ञानेन्द्र शाह ‘नाति हृदयेन्द्रलाई उत्तराधिकारी बनाउन तयार’

काठमाडौं– ‘नागरिक अभिनन्दन’ लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्। पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्।

नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु गएका थिए।

कपिलबस्तुको चन्द्रौटामा पूर्वराजा शाह र पूर्वनवयुवराज हृदयेन्द्रको भव्य स्वागत गरिएको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजा शाह नाति हृदयेन्द्रसहित चन्द्रौटा पुगेका हुन्।

चन्द्रौटामा पृथ्वीनारायण शाह घोडामा सवार भएर युद्धमा जाँदै गरेको शालिक निर्माण गरिएको छ।

त्यस्तै पूर्वराजा शाह पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ। यसबीचमा उनले विभिन्न मन्दिरहरूको दर्शन गरिरहेको र गर्ने संयोजक बस्यालले जानकारी दिए।

नेकपा एमालेका स्थानीय नेता बस्याल संयोजक बनेपछि पार्टीबाट निकालिएका छन्। उनी गत स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार थिए।

‘ज्ञानेन्द्र शाह विकल्प दिन तयार’
पछिल्ला दिनहरूमा सत्ताधारी दलकै प्रमुख नेताहरूले ‘परिवर्तन उल्ट्याउने षड्यन्त्र’ भइरहेको बताउने गरेका छन्।

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति बेला बखत प्रदर्शन हुने गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ।

कांग्रेसका एक नेताले त चैतसम्ममा संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका छन्। संयोजक बस्याल भन्छन्, ‘जसरी यो संविधान आयो, त्यसै गरी जान्छ। हिन्दूराष्ट्र, अभिभावकको रूपमा राजसंस्थाको निम्ति हामी प्रयासमा लागेका छौँ।’

शासन सत्ता सम्हालिरहेका सबैजसो दलहरू गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताप्रति प्रतिबद्ध देखिन्छन्। त्यसैले राजसंस्था पुनर्स्थापनाको सम्भावना देख्नेहरू निकै कम छन्।

राजा छँदा ज्ञानेन्द्र शाहको ‘निरङ्कुश कदम’ र त्यसले दिएको अलोकप्रियताका साथै छोरा पारसको छविका कारण पुनर्स्थापनाको सम्भावना झनै नभएको तर्क पनि गरेको सुनिन्छ।

तर संयोजक बस्यालले भने, ‘राजसंस्था अभिभावकको रूपमा आउनुप¥यो, ज्ञानेन्द्र शाह नै राजा बन्नुपर्छ भन्ने छैन। उहाँ विकल्प दिन तयार हुनुहुन्छ।’

ज्ञानेन्द्र शाहले नातिलाई राजा बनाउन मुख खोलिसके?
कतिपयले २०६३ सालमा आन्दोलन सफल भएपछि ‘बेबी किङ’को चर्चा गर्थे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि त्यो सम्भावना औँल्याएका थिए। त्यस बेला शाहले त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताउने गरिन्छ।

बस्यालका भनाइमा पूर्वराजा शाह नातिलाई राजा बनाउन तयार छन्। आफूहरूबीच भेटघाट भइरहने बताउने बस्यालसँगकै कुराकानीमा के शाहले त्यसबारे मुखै खोलेका हुन? भन्ने प्रश्नमा ‘हैन, मुखै खोल्नुपर्दैन नि, आशयले नै बुझिन्छ। बादल लाग्यो भने पानी पर्छ भन्ने आभास हुन्छ’ भन्दै जवाफ दिए। संयोजक बस्याल भन्छन्, ‘सबै कुरा खोल्न त कहाँ मिल्छ र? कतिपय कुराहरू बुझ्नुपर्छ।’

शाहका छोरा पारस भने राजा बन्ने अवसर आउँदा पनि बन्न नचाहने उनले बताए। विकल्पबारे पूर्वराजाको तर्फबाट दलहरूसमक्ष प्रस्ताव गए÷नगएको विषयमा भने उनले त्यसबारे दलहरू तयार भएको खण्डमा गोलमेच सम्मेलन वा त्यस्ता कुनै बैठकहरूले निधो गर्ने विषय बन्ने बताए।

राजसंस्थाका कतिपय पक्षपातीहरूले यसअघि पनि हृदयेन्द्र शाहलाई राजाको रूपमा अघि सार्न सकिने बताउने गरेको पाइन्छ। तर पूर्वराजा शाह निकटस्थहरूले यसबारे कुनै सङ्केत दिएको पाइँदैन।
बीबीसीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट