सरकारी वकिल कार्यालयबाट प्रहरीको हतकडी फालेर थुनुवा फरार, २४ घण्टा नपुग्दै पक्राउ
लहान– सिरहामा प्रहरीको हतकडी खुस्काएर सरकारी वकिल कार्यालयबाटै शुक्रबार फरार भएका थुनुवा शनिवार पक्राउ परेका छन्।
सिरहाको लहान नगपालिका– २१ घर भएका फरार थुनुवा ३० वर्षीय छोटु सदायलाई शनिबार दिउँसो कल्याणपुर नगरपालिका– १२ थलहा पक्राउ गरिएको हो।
सिरहा प्रहरीका डीएसपी रविन्द्रराज पाण्डेका अनुसार इलाका प्रहरी कार्यलय लहानले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ३ दिनाजपुर (सरञ्चिया) मा नाबालिकालाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि ५ पुसमा सदायलाई पक्राउ गरिएको थियो।
इलाका प्रहरी कार्यालय लहानले शुक्रबार सदायसहित तीनजना थुनुवालाई कानुनी प्रकृयाको लागि सिरहा जिल्ला अदालत लगेको थियो। सोही प्रकृया अन्तरगत सरकारी वकिल कार्यालयमा रहेका वेला मिशिल देखाउने क्रममा उनी फरार भएका थिए।
हातमा लगाएको हत्कडी खुस्काई कार्यालयको गेट अगाडिबाटै उनी फरार भएका थिए।