सम्राट अशोकसँग प्रचण्डले गरे आफनै तुलना
नवलपरासी– प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो तुलना सम्राट् अशोकसँग गरेका छन्। युद्धबाट शान्तिमा आएका आशोक र आफूबिच एक खालको संवेदना जोडिएको दाबी गर्दै उनले शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमान्दारितापूर्वक ग्रहण गर्ने विश्वास दिलाए।
मंगलबार नवलपरासीको रामग्राममा आयोजित विश्व शान्तिको विशेष कार्यक्रमलाई सम्बोधन दाहालले सम्राट अशोकसँग तुलना गरे। बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास उनको छ।
‘युद्धबाट शान्तिमा आएपछि शान्तिलाई विश्वव्यापी बनाउनका निम्ति सम्राट् अशोकसँग कहीँ न कहीँ मेरो एक खालको संवेदना जोडिएकै पाउँछु’ दाहालले भने–‘पहिलोपटक लुम्बिनी आउँदा मैले यो कुरा भनेको थिएँ।’
युद्धका एक कमान्डर अशोकले शान्तितिर आएर लुम्बिनीमा अशोक स्तम्भ राखेर बुद्धको सन्देश संसारभर लैजान पहल गरेको भन्दै उनले त्यसबाट आफु उत्प्रेरित भएको बताए। ‘यो कुरा साँचो हो मलाई त्यसबाट प्रेरणा प्राप्त छ’ उनले थपे–‘मैले यसअघि र अहिले विश्व समुदायमा शान्तिका लागि गरेको अपिलसँग अशोकको पहल र मेरो भावना मेल खाएको देख्छु।’
संवेदनशील भूमि रामाग्रामको स्तूपा अगाडि उभिएर शान्ति र भगवान् बुद्धका शिक्षा आफूले इमानदार र दृढतापूर्वक ग्रहण गर्न लागिराख्ने विश्वास उनले दिलाए। त्यति धेरै लडाइँबाट आएको मान्छेले बुद्धलाई स्थापित गर्न सक्छ भने आफू त एउटा सानो युद्धबाट आएको मान्छेले धेरै गर्न सक्छ भन्ने आत्मविश्वास रहेको प्रधानमन्त्री दाहालले बताए।