विहारको रेल्वे ट्रयाकमा बम राख्ने योजनामा दुई नेपालीको संलग्नता पुष्टि

काठमाडौँ– दुबईमा बसेर पाकिस्तानी खुफिया एजेन्सीसँगको मिलेमतो गरी भारतविरुद्ध अपराध गरेको आरोप लागेका दुई नेपालीलाई विशेष अदालतले दोसी प्रमाणित गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठ र रितेन्द्रबाबु थापाको मंगलबारको संयुक्त इजलासले कलैया घर भई दुबईमा वस्दै आएका समसुल होदा र गिरी बाबा भन्ने वृजकिशोर गिरीलाई दोषी ठहर गरेको हो।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेषमा मुद्दा दायर गरेको थियो। विभागको दाबी अनुसार अदालतले यी दुवैले आतंकवादी गतिविधिमा लगानी गरेको पुष्टि गरेको छ। तर, सजाय भने सुनाएको छैन। आगामी सुनुवाइमा यी दुबै विरुद्ध सजाय निर्धारण हुनेछ।

होदाले पाकिस्तानी नागरिकसँग मिलेर नेपाली र भारतीय युवालाई संगठित बनाएई विहारको रेल्वे ट्रयाकमा बम विस्फोट गराउने योजना बनाएका थिए। योजनाअनुसार बम पनि राखिएको थियो। तर प्राविधिक गडबडीले बम पड्किएन। अनुशन्धानमा देखिए अनुसार योजना बनाउनका लागि उनलाई पाकिस्तानबाट पैसा आउँथ्यो। उनी दुबइमा बसेर नेपालमा रहेको समूहलाई पैसा पठाउँथे।

बम पड्काउने योजना असफल भएपछि योजनामा संलग्न दुई भारतीय नागरिक दीपक राम र अरुण रामको हत्या गराएको पनि देखिएको छ। १३ पुस ०७३ मा बाराको जङ्गलमा प्रहरीले जङ्गलमा दुई युवाको शव फेला पारेपछि अनुसन्धान गर्दैजाँदा हत्यामा जोडिएका उमेशकुमार पटेल र कलैया बरेवाका मोजाहिर अन्सारी पक्राउ परेका थिए।

उनीहरूले योजनाकारको रूपमा सिमराका बृजकिशोर गिरीको नाम लिए। प्रहरीले गोली चलाएर उनलाई पक्राउ गर्न खोज्दा महिलाको भेसमा भाग्न खोजेका थिए। यो घट्ना आतंकवादसँग जोडिएको थियो। रेल्वे ट्रयाकमा राखिएको कुकर बम नपड्किएपछि पोल खुल्ने डरले दुवै भारतीय नागरिकको हत्या गरेर जङ्गलमा शव फालेको अनुशन्धानमा खुलेको थियो।

हत्या आतंकवादसँग जोडिएपछि नेपालमा विशेष ब्युरो र भारतमास्पेसल टाक्स फोर्सले अनुसन्धान सुरु गरेको थियो। नेपालमा तीन जना पक्राउ परे भने भारतमा मोती पासवान, उमाशंकर पटेल र मुकेश यादव पक्राउ परेका थिए।

भारतमा पक्राउ परेकाहरूबाट भारतको सिम्रौनगढ घोडासन र आदापुर नकरदेहीमा रहेको रेल्वे लिकमा विस्फोटको योजना अनुसार बम राखिएको तर प्रेसरकुकर बममा राम्रोसँग तार नजोडिँदा नपड्किएको खुलेपछि प्रहरी यो घटनाको मुख्य योजनाकारको खोजीमा लागेको थियो। यी सबै घटनाको योजना दुबईमा बनेको र मास्टरमाइन्ड दुबइमा रहेका नेपाली नागरिक समसुल होदा देखिए।

अनुसन्धानमा होदाले गिरीलाई पैसा पठाउने गिरीले भारतीय र नेपाली मिलाएर समूह बनाई रेल्वे ट्रयाकमा बम पड्काउने योजना बनेको देखियो। उनले तीन लाख भारतीय रुपैयाँ लिएको पनि खुलेको थियो। पहिलो योजना सफल नभए पनि उनले पुन दोस्रो पटक रेल्वे ट्रयाकमा बम पड्काउने योजना बनाए। तर भारतीय नागरिकले नमानेपछि हत्या गरेको खुलेको छ।

होदा वैदेशिक रोजगारीकाक्रममा मलेसिया गएका बेला पाकिस्तानीहरूसँग मिलेर नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने गरेका थिए। नक्कली भारु कारोबारका लागि उनी नेपाल फर्किए। उनको सम्पर्क पाकिस्तानमा रहेका सफी नामका व्यक्तिसँग थियो। घट्ना पुष्टि हुँदै गएपछि नेपाल प्रहरीको अनुरोधमा दुबइको सुरक्षा निकायले होदालाई नेपाल पठायो। २५ माघमा उनी पक्राउ परे। हत्या अभियोगमा उनीसहित चार जना कारागार चलान भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट