रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भएको प्रधानमन्त्रीद्वारा जानकारी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरू रुस र युक्रेन दुवै देशको सेनामा सहभागि भएर युद्ध लडिरहेको बताएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भइसकेको जानकारी पनि दिए।
‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ उनले भने–‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ।’
यसअघि परराष्ट्र मन्त्री एनपी साउदसहित सरकारका अन्य जिम्मेवार मन्त्रीहरुले रुसी सेनामा गएर नेपालीहरुको मृत्यु भएको कुरा लुकाउने प्रयास गरिरहेका थिए। सुन्नमा आएपछि आधिकारीक रुपमा नेपाली युवाहरु रुस र युक्रेनको सेनामा रहेको जानकारी नआएको उनीहरुले बताउने गरेका थिए।
दाहालले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा पनि गरेका छन्।
उनले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेको सन्दर्भमा सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।
भूकम्प प्रभावित क्षेत्रमा चिसोले मानिसको मृत्यु भएकोबारे पनि संख्या बढाइचढाइ हल्ला फैलाइएको गुनासो उनले गरे। मृत्यु भएका भनिएका सबैको चिसोका कारण नभइ कतिपयको कालगतिले मृत्यु भएको दाहालले प्रस्ट पारे।