२० लाखको राहत सामग्री बोकेर टिकटक स्टार आयुष–एलिजे जाजरकोट जाँदै
काठमाडौं– चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजेह जमाली (एलिजे)को जोडी २० लाखको राहत सामग्री लिएर आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट जाने भएको छ।
बिहीबार दुवईबाट नेपाल आएका उनीहरूले नेपालगन्जबाट ट्रकमा सामान लोड गरिसकेका छन्। राहत वितरण गरिने क्षेत्रसम्म ट्रक जान नसक्ने भएकाले ४ घण्टाको बाटोमा ट्रयाक्टरमा ओसारिनेछ।
जाजरकोटको कुसे गाउँपालिका–३ मा रहेका १ सय ६५ घरधुरीलाई उनीहरुले राहत सामग्री वितरण गर्ने जनाईएको छ। उनीहरुले करिब एक महिनाका लागि पुग्ने खाद्यान्न, कपडा र भाँडाकुँडा लिएर जान लागेको पारिवारीक स्रोतले जनाएको छ।
उनीहरुले ३ सय ५० विद्यार्थीलाई कापी, कलमलगायत स्टेसनरी सामग्री र एक–एक सेट ट्रयाक सुट पनि वितरण गर्नेछन्। कोही नपुगेको ठाउँमा जान चाहेको भन्दै उनीहरूले सबैभन्दा विकट ठाउँ रोजेका थिए।
टिकटकबाटै जोडिएका एलिजे र आयुष केही समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरुले १९ असोजमा दुबईमा इन्गेजमेन्ट (टिकाटालो) गरेका छन्। उनीहरूको इन्गेजमेन्टमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए।