देउसीको झगडामा साथीले नै गरे सुलभको हत्या, लखेटी–लखेटी खुकुरी र हेलमेटले आक्रमण
गुलरिया– बर्दियाको गुलरिया नगरपालिका –६ का २३ वर्षिय वरुण घिमिरेको लक्ष्मी पूजाको दिन (२६ कात्तिक) राती निर्मम हत्या भयो। गुलरिया–५, सोहेलहवास्थित एक जुस कारखाना नजिकै गम्भिर घाईते अवस्थामा फेला परेका उनलाई स्थानीयले उद्वार गरी प्रहरीलाई खवर गरेका थिए।
बरुणको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। मृत्यु हुनुअघि उनले प्रहरीलाई आफूमाथि आक्रमण गर्नेहरूबारेमा बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरुणका साथी सुलभ थापा र सुरेश थापासहित छन्। सुलभ र सुरेश दाजुभाई हुन। उनीहरुको घर ५ सय मिटरको दुरीमा छ। प्रारम्भिक अनुसन्धानमा उनीहरुले पुरानो रिसइबीका कारण बरुणको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
अनुशन्धानमा संलग्न एक प्रहरीका अनुसार घरमै परिवारसँग बसिरहेका बरुणलाई देउसीभैलो हेर्न भन्दै बोलाएर लगिएको थियो। विभिन्न टोल घुमाएर मध्यरातमा कसैले पत्तो नपाउनेगरी हत्या गरिएको खुलेको छ। योजनाबद्ध रुपमै बरुणको हत्या भएको दाबी कतिपय स्थानीयले गरेका छन्।
राति साढे ११ देखि १२ बजेको बीचमा बरुणलाई लखेटी–लखेटी टाउकोमा हेल्मेट र पेटमा खुकुरीले हानेर गम्भीर घाइते बनाएर उनीहरू भागेका थिए। घटनास्थलको प्रकृति हेर्दा बरुण भाग्न खोजेको र आक्रमणकारीले घेरेर आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, बरुणको एक वर्षअघि तिहारकै बेला सुलभ र सुरेशसँग झगडा भएको थियो। बरुण र उनका साथीले थापालाई घाउचोट लाग्नेगरी कुटपिट गरेका थिए। सो विवाद प्रहरीमा समेत पुगेको थियो। प्रहरीले घाउचोटको उपचार खर्च भराएर कानुनी प्रक्रियाबाटै मेलमिलाप गराएको थियो।
त्यतिबेला मेलमिलाप भए पनि थापा दाजुभाइले एक वर्षपछि रिसइबी साध्नेगरी आक्रमण गरेको खुलेको जिल्ला प्रहरी कार्यालय वर्दियाका एसपी सुधीरराज शाहीले बताए।