दुर्गा प्रसाईँको खातामा अस्वभाविक शंकास्पद कारोबार, सीआईबीले पनि थाल्यो अनुशन्धान

काठमाडौँ– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बैंक खातामा अस्वभाविक शंकास्पद आर्थिक कारोबार भएको विषयमा पनि प्रहरीले अनुशन्धान थालेको छ। आर्थिक कारोवारको विषय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको हो।

१५ चैतमा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका फिल्ड कमान्डर प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पत्राचार गरेको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए।

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत लिइसकेको छ। सिआइबी प्रवक्ता (एसपी) सुधिरराज शाहीका अनुसार प्रसाईँले विभिन्न कम्पनीहरूका लागि अर्बौंको ऋण लिएर दुरूपयोग गर्दै आएको आरोप छ।

उनी र उनको परिवार सम्बद्ध फर्म र कम्पनीहरूले लिएका ऋण जुन प्रयोजनका लागि लिएको हो त्यही प्रयोजनका लागि प्रयोग गरिएको छैन। उनले एउटा बैंकको ऋण तिर्न पनि अर्को बैंकबाट ऋण लिएको पाईएको छ। व्यवसाय गर्न भनेर लिएको ऋण अर्को बैंकको कर्जा तिर्न प्रयोग गर्नु गैरकानुनी मानिन्छ।

बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रालिका नाममा लिएको कर्जाको साँवा–व्याजसमेत विगत ४ वर्षदेखि अनियमित भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कतिपय परियोजनाको लागतलाई वृद्धि गरी आवश्यक पर्नेभन्दा बढी कर्जाको प्रयोग समेतको आरोप प्रसाईंमाथि छ।

उनी, उनको परिवार र उनीहरू सम्बद्ध कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार (रिलेटेड पार्टी ट्रान्जाक्सन) गरेको लगायतका शंकास्पद कारोबार देखिएको छ।

अनुसन्धानबाट तत्कालीन एनसिसी बैंक (हाल कुमारी बैंक) बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख रुपैयाँ प्रवाह भएको देखिएको छ भने नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडबाट होटल एट्रियम प्रालिको नाममा ५ करोड र गुडविल फाइनान्स लिमिटेडबाट युए मेडिको सप्लाइज एन्ड इक्युपमेन्ट प्रालिको नाममा १० करोडको ऋण प्रवाह भएको देखिएको छ।

तर उनले लिएको ऋण प्रयोजना गर्ने उद्देश्यभन्दा बाहिर गएर दुरूपयोग गरेको पाइएको प्रहरीले जनाएको छ। प्रसाईं हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुने घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि कारबाही अघि बढाउने तयारी गरिरहेको छ।

भारतको आसामबाट प्रहरी पक्राउ गरेर नेपाल ल्याएका प्रसाईका विषयमा अनुशन्धान गर्न पहिलो पटक १२ दिनको म्याद लिईएको छ। अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट