४ सय रुपैयाँ चोरिएको विवादमा एक जनाको विभत्स हत्या गरी भागेका पूर्वप्रहरी जवान पक्राउ

काठमाडौँ– डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदिश कैनीको हत्या गरेको आरोपमा प्रहरीले एक जना सशस्त्र प्रहरीका पूर्वजवानलाई पक्राउ गरेको छ।
कैनीको हत्या आरोपमा बैतडीको डिलासैनी गाउँपालिकाका–३ सिमारका ३४ वर्षीय हेमन्तबहादुर बोहरा पक्राउ परेका हुन। उनलाई इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले बुधबार कैलालीको अत्तरियाबाट पक्राउ गरेको हो।
डिएसपी गंगाबहादुर थापाका अनुसार बोहोराले ४ सय रुपैयाँ चोरेको आरोप लगाउँदै टाउकोमा ढुङ्गाले हानेर २६ चैतको राति कैनीको हत्या गरेका थिए। बस पार्क क्षेत्रमा डुली हिड्ने कैनीको शव अत्तरियास्थित दुर्गा मन्दिरको परिसरमा २७ चैतको बिहान फेला परेको थियो।
प्रहरीका अनुसार बोहोरा र कैनी दुवै अपरिचित हुन। २६ चैतको राँझ रक्सीले मातेर मन्दिर परिसरमा सुत्न गएका बोहोराले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी कैनीको विभत्सा हत्या गरेको डीएसपी थापाले बताए। कैनीले पनि मदिरा सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीको अनुशन्धान अनुसार चैतको पहिलो साता मन्दिर परिसरबाटै बोहोराको ब्याग पनि हराएको थियो। घट्ना भएको दिन पनि आफनो पैसा हराएको उनले प्रहरी समक्ष बताएका छन्। पैसा हराएको विषय निकालेर उनले कैनीसँग विवाद गरेका थिए। विवादकै बीचमा ‘अस्ति ब्याग चोर्ने र आज पैसा चोर्ने यो रहेछ’ भन्दै ढुंगाले पटक–पटक हानेर कैनीको हत्या गरेको खुलेको छ।
बाहोराले हत्यापछि शव घिसारेर केही पर फालेको थापाले बताए। कैनीको शव फेला परेपछि प्रहरीले आसपासका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दै जाँदा बोहरा साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेर राति ९ बजेर ८ मिनेटमा बाहिर निस्किएको देखिएको थियो। कैनी भने ८ बजेर ५५ मिनेटमा मन्दिरभित्र प्रवेश गरेका थिए।
यही आधारमा प्रहरीले बोहोराको खोजी गरिरहेको थियो। उनी भने कैनीको हत्यापछि धनगढी गएर एक साता होटलमा काम गरेको खुलेको छ। त्यसपछि उनी बुधबार मात्रै अत्तरिया फर्किएका हुन। बेलुका घट्नास्थल नजिकै पसलमा रक्सी सेवन गरिरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
बोहरा ८ वर्ष सशस्त्र प्रहरीमा जागिरे थिए। जागिर छोडेर विदेश गएका उनी त्यहाँबाट फर्केर होटलमा काम गर्न थालेको प्रहरीको अनुशन्धानमा खुलेको छ।