सप्तरीको सुरुङ्गामा मृत फेला परेकी युवतीको हत्या आरोपमा १ युवक पक्राउ, ३ वर्षअघि गरेका थिए बलात्कारको प्रयास

राजविराज– मंगलबार घर नजिकै पोखरीको डिलमा मृत फेला परेकी सप्तरीको सुरुङ्गा नगरपालिका– ७, रामटोलकी दलित युवती पूजा रामको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीले स्थानीय जागेश्वर ठाकुरलाई गाउँबाटै पक्राउ गरेको हो। मृतक युवतीकी आमा रामवतीदेवीले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि ठाकुर पक्राउ परेका हुन्।
मृतक युवतीलाई तीन वर्ष पाँच महिना अघि तीनै युवकले बलात्कारको प्रयास गरेका थिए। प्रहरीका अनुसार १४ मंसिर ०७८ मा ठाकुरले घरनजिकैको बाँसघारीमा कपडाले मुख थुनेर बलात्कार गर्न खोजेका थिए। तर, युवतीले हल्ला गरेपछि उनी भागेका थिए।
घट्नाको जानकारीपछि प्रहरीले २० मंसिर ०७८ मा उनलाई पक्राउ गरेर २३ मंसिरमा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो। १७ दिन हिरासतमा राखेर उनलाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
थुनछेकका लागि अदालत समक्ष पेस गर्दा नाबालक भएको भन्दै अदालतले उनलाई परिवारको जिम्मा लगाउने आदेश दिएको थियो। सो मुद्दामा २ चैत ०७९ मा तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले प्रतिवादीलाई ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
नाबालक ठहर भएका उनलाई बाल सुधारगृह पठाउने आदेश भएपछि मण्डल फरार थिए। उनी चितवन वस्दै आएको खुलेको छ। मंगलबार युवतीको मृत शरीर फेला परेपछि उनी गाउँबाटै पक्राउ परेका हुन।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती युवक एक साताअघिमात्र गाउँ फर्किएका थिए। पूजाको शव मंगलबार घरदेखि पाँच सय मिटर पर तीनगछिया भन्ने ठाउँको पोखरी छेउमा फेला परेको हो। उनको शव पातपतिंगरले छोपिएको थियो।
सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार सोमबार राति भाइ १२ वर्षीय विश्वजितसँगै सुतेकी पूजा एक्कासि हराएको खवर आएको थियो। पूजा हराएको राति आमा रामवतीदेवी अष्टयाममा सहभागी हुन घर बाहिर गएकी थिइन्।