कर्फ्यु हटेपछि वीरगञ्ज फेरी अशान्त, ठाउँ–ठाउँमा प्रदर्शन

जनकपुर– हनुमान जयन्तीका अबसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीचको झडपपछि असान्त बनेको पर्साको वीरगञ्ज अझै शान्त भएको छैन।
स्थानीय प्रशासनले कर्फ्यु लगाएर स्थितिलाई नियन्त्रणमा राखेपनि कर्फ्यु हटे लगत्तै पुन तनाव सुरु भएको छ। कर्फ्यु हटाएकोमा हिन्दू समुदाय आन्दोलित बनेको छ।
स्थानीय प्रशासनले सर्वपक्षीय सहमतीविपरीतको कार्य गरेको आरोपमा चारजनालाई नियन्त्रणमा लिएको छ। आफ्ना पक्षधरका दुईजना पक्राउ गरेको भन्दै हिन्दू समुदायका युवाले हिजो साँझ जिल्ला प्रहरी कार्यालयमा धर्ना र प्रदर्शन गरेका थिए।
शोभा यात्रामा मस्जिदको छतबाट ढुंगा हान्नेहरुलाई कारवाही गर्नु पर्ने हिन्दु समुदाय पक्षले माग गरेका छन्। आन्दोलनकारीमाथि प्रहरीको लाठीचार्ज गर्दा दुई जना पत्रकारसमेत घाइते भएका छन्। उनीहरुको टाउकोमा चोट लागेका कारण उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ।
बुधबार बिहानैदेखि परवानीपुर, प्रतिमा चौक र नेशनल ट्रेडिङ अगाडि टायर बालेर प्रदर्शन गरिएको छ । अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालित छन्। पुनः सद्भाव बिग्रिन थालेपछि सीडीओ गणेश आर्यालले छलफल बोलाएका छन्।
मधेसका मुख्यमन्त्री सतिश सिंहले सामान्य हुँदै गएको वीरगञ्ज पुनः अशान्त हुन थालेको भदै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले निकालेको विज्ञप्तिमा मुख्यमन्त्रीले चासो लिएको उल्लेख छ।