सिरहामा यौन दुर्व्यवहारमा परेको ४ महिनासम्म पनि न्याय नपाएकी दलित युवती मृत फेला परिन

लहान— सिरहामा यौन दुर्व्यवहारमा परेर सामाजिक रुपमा तिरस्कृत भएकी एक दलित (मुसहर समुदाय) युवती मंगलबार मृत फेला परेकी छिन्। नवराजपुर गाउँपालिका–३, जगतपुरस्थित दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय मृत फेला परेकी हुन।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि २ वर्षीया छोरीका साथमा उनी माइतीमा बस्दै आएकी थिइन्। त्यसैक्रममा करिब ४ महिनाअघि गाउँकै दुई युवकले उनीमाथि बलात्कारको प्रयास गरेका थिए। उनले यस विषयमा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा उजुरी दिएपनि प्रहरीले दर्ता गर्न मानेको थिएन।
आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवको परिवार र आफन्तले पीडित भनिएकी महिलाले गाउँका युवालाई फसाउन षडयन्त्र गरेको भन्दै प्रहरीलाई प्रभाव र दबाबमा राखेपछि उजुरी दर्ता हुन नै हम्मे–हम्मे पर्यो। लामो समयको दबाबपछि साढे दुई महिनापछि २५ फागुनमा प्रहरीले पीडकविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेपनि पीडकलाई कारवाही र पीडितलाई न्याय दिलाउने विषयमा चुक्यो।
२६ फागुनमा आरोपितविरुद्ध सिरहा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। तर पीडकहरू पक्राउ परेका छैनन्। प्रहरीले उनीहरु फेला नपरेको वताउँदै आएको छ। तर, परिवारका सदस्यहरुका अनुसार दुवै युवक गाउँमै थिए।
अर्कोतर्फ गाउँका कतिपय भद्रभलाद्मी र राजनीतिक दलका नेताहरुले घट्नालाई मिलापत्र गराउने प्रयास गरिरहेका थिए। नरेन्द्र यादवलगायतका केही व्यक्तिले रकम लिएर गाउँमै मिल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिएपछि आनन्दी विछिप्त थिईन। दोषीलाई कारबाही नहुँदा उनी समाजको अत्याचार र बेइज्जत सहेर वसिरहेकी थिईन।
यसैक्रममा मंगलबार उनी छानोमा सल बेरेर झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्तराम शर्माले बताए।
आमा बिल्टौनका अनुसार गत ९ पुसमा आनन्दी बरियारपट्टी गाउँपालिका–१, नर्गीमा रहेकी दिदीलाई भेट्न हिँडेकी थिइन्। गाउँमै रहेको पोखरी हुँदै जाँदै गरेकी उनलाई सञ्जीव र श्यामसुन्दरले घेरा हालेर शारीरिक सम्पर्कका लागि प्रस्ताव राखेका थिए। नमानेपनि जबर्जस्ती गरेर छेउकै आँप बगैंचामा लगे।
बगैंचामा रहेको परालको थुप्रोमा लडाएर बलात्कार गर्न खोजेपछि आनन्दीले प्रतिकार गरिन। र उम्किएर घर पुगिन। त्यसै दिन उनी इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिन पुगेकी थिईन। तर, प्रहरीले समयमा न्याय दिलाउन प्रयास नगर्दा आनन्दीको ज्यान गएको स्थानीयको आरोप छ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका अनुसार घटनाको मुचुल्का गरी शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।