ललितपुरमा ११ वर्षीया बालिकाको हत्याः १५ दिनपछि पानी ट्यांकीमा भेटियो शव, बाबुआमा अनुशन्धानमा

काठमाडौँ– ललितपुरको मंगलबजार नजिक खपिन्छेँ टोलकी ११ वर्षीया बालिकाको हत्या गरेको आशंकामा प्रहरीले उनका बुबाआमासहित ८ जनालाई तारेखमा राखेर अनुशन्धान थालेको छ। तारेखमा राखिएकामध्ये केही नाबालक र बालिकाका साथीसमेत छन्।
बझाङ घर भई खपिन्छेँमा आमासँगै बस्दै आएकी बालिका दुर्गा बोहराको शव कुहिएको अवस्थामा बिहिबार एक घरको पानीट्यांकीमा भेटिएको थियो। उनी ११ चैतदेखि हराएकी थिईन। तर, उनी हराएको १५ दिनभन्दा वढि हुँदा समेत प्रहरीमा यस विषयमा जानकारी दिईएको थिएन।
बालिका र उनकी आमा शव भेटिएको घरमै वस्दै आएका थिए। तर, २०÷२५ दिनअघि मात्रै आमा त्यहाँबाट डेरा सरेको खुलेको छ। उनी डेरा सरेपछि मकवानपुरका सञ्जय बोगटी १६ चैतमा डेरा सरेर सोही घरमा पुगेका थिए। पानीट्यांकीबाट बाहिर किरा आउन थालेपछि बोगटीले ट्यांकी सफा गर्न खोज्दा बालिकाको शव भेटिएको थियो।
प्रहरीका अनुसार ट्यांकी भित्र शवलाई कपडाले छोपिएको र त्यसमाथि इँटा राखिएको थियो। किरा परिसकेको र मासु गलिसकेको अवस्थामा शव बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
लगत्तै अनुशन्धान सुरु गरेको प्रहरीले शव भेटिएको घरमा रगतका टाटा समेत फेला पारेको छ। पानी ट्यांकीमा बालिकाको शव र घरमा रगतको टाटा भेटिनुले वाहिर हत्या गरी ट्यांकीमा शव लुकाईएको आशंका प्रहरीले गरेको छ। तर, रगत बालिकाकै भएको पुष्टि भने भएको छैन।
बालिका हराएको भनिएको दिन शव भेटिएको घर वरपर शंकास्पद गतिविधि भएको पनि प्रहरीले फेला पारेको छ। उपलब्ध सीसी क्यामेराको फुटेजमा एक व्यक्ति शंकास्पद अवस्थामा घर वरपर देखिएका छन्। ती व्यक्तिमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
बालिकाका बाबुआमाको सम्वन्धमा समेत खटपट देखिएको छ। उनीहरु छुट्टाछुट्टै बस्ने गरेका थिए। उनीहरुले बयानमा भने छोरी पहिला पनि पटक–पटक लामो समय हराउने र फेरि आउने गरेकाले प्रहरीमा खबर नगरेको बताएका छन्।