नक्कली शैक्षिक प्रमाण पत्र देखाएर सरकारी जागिर खाने सप्तरीका पूर्ववडाध्यक्ष पक्राउ

राजविराज — नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी सरकारी जागिर खाएर भ्रष्टाचार गरेको मुद्दामा कैद सजाय तोकिएका सप्तरीका एक जना निवर्तमान वडाध्यक्ष पक्राउ परेका छन्।

रुपनी गाउँपालिका–१ का निवर्तमान वडाध्यक्ष पिताम्बर यादवलाई प्रहरीले शुक्रबार साँझ राजविराज–रुपनी सडकखण्डबाट पक्राउ गरेको हो। अदालतले सजाय तोकेपछि करिव एक वर्षदेखि फरार रहेका यादवलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

यादव ०७४ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। त्यसअघि उनी १५ माघ ०६९ देखि १० जेठ ०७४ सम्म जिल्ला शिक्षा कार्यालय दैलेखमा सब–इन्जिनियर पदमा कार्यरत थिए।

उनी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा करार सेवामा जागिर खाएको आरोपमा अख्तियारमा उजुरी परेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक अनुशन्धानपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २१ पुस ०७४ मा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) को कसुरमा दोषी ठहर गर्दै यादवलाई ६ महिना कैद र १५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो।

भ्रष्टाचार मुद्दा चलिरहँदा नै यादवले जागिर छाडेर चुनाव लडेका थिए। वडाध्यक्षमा निर्वाचित भइसकेपछि दोषी ठहर भएका यादवविरुद्ध स्थानीयले उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषणसम्बन्धी मुद्दा दायर गरेपछि अदालतबाट वडा अध्यक्ष पदमा निलम्वित गर्ने गरी आदेश जारी भएको थियो।

उच्च अदालतबाट २१ मंसिर ०७५ मा भएको सो आदेशमा पुनर्विचारका लागि यादवले सर्वोच्च अदालतमा गरेको निवेदनमा अदालतबाट अन्तरिम आदेश जारी भएको थियो। उच्च अदालतको मुद्दा दोहोर्‍याई पाँउ भनी गरिएको निवेदनमा सर्वोच्चले वडा अध्यक्षको रूपमा कामकाजमा रोक नगर्न/नगराउने भनी गाँउपालिकाको नाउँमा आदेश जारी गरेपछि यादव कामकाजमा फर्किए।

तर, सर्वोच्चले २२ फागुन ०८० मा विशेषको फैसला सदर गरेपछि यादव लुकिछिपी बस्दै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट