दुर्गा प्रसाईँ भद्रपुर प्रहरीको हिरासतमा, ११ बजेको विमानबाट काठमाडौँ लगिँदै

दमक — १५ फागुनको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ। भारतमा पक्राउ गरी ल्याईएका प्रसाईँलाई काँकडभिट्टा नाकाबाट सीआईबीको टोलीले स्कर्टिङ गरी भद्रपुर लगेको छ।
प्रसाईंलाई आज ११ बजेको उडानबाट काठमाण्डौ लाने तयारी छ। हाल उनी जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा छन्। काठमाण्डौ विमानस्थलबाट प्रहरीले जिम्मा लिएपछि राज्यविरुध्दको अपराधअन्तर्गत जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइनेछ।
१५ गते उनैको नेतृत्वमा राजावादी प्रदर्शन हुँदाको ४६ करोडको क्षति र दुई जनाको ज्यान जाने घटनाका निम्ति पनि उनलाई जिम्मेवार ठहर्याई सोहीबमोजिम सजायको मागदाबी गरिने बुझिएको छ।
प्रसाईँलाई ल्याउने भएपछि आज बिहानदेखि मेची पुलमा उनका परिवारका सदस्य र समर्थकहरु उनको प्रतिक्षामा रहेका थिए। प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई भारतीय प्रहारीको सहयोगमा आसामबाट पक्राउ गरिएको हो।
तर, प्रहरीले भने पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पु¥याईएको थियो। पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको ज्यान गएको थियो।१२९ जना घाइते भएका थिए, पाँच जना अझै अस्पतालमा छन्।