कुवेतमाथि किर्तिमानी जितसँगै ‘हङकङ टी–२०आई शृखला’को फाईनल नजिक नेपाल

काठमाडौँ– हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा जारी हङकङ टी–२०आई शृखलामा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।

कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको छ। यो नेपालले टी–२०आईमा लक्ष्य पूरा गर्दा बनाएको उच्च योगफल हो। जसका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे।

यसअघि नेपालले मलेसियासँग १६६ रनको लक्ष्य पूरा गरेको सबैभन्दा उच्च सफल चेज थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ तथा आसिफ शेखले ५३ रन बनाए। यी दुई मिलेर पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए।

यो साझेदारी पनि नेपालको टी–२०आईमा सर्वाधिक रनको ओपनिङ साझेदारी हो। यसअघि सन् २०२१ मा नेदरल्याण्ड्ससँग नेपालले ११६ रनको ओपनिङ साझेदारी गरेको थियो। भुर्तेलले अर्धशतक बनाउने क्रममा ५० बल खेल्दै समा ६ चौका र छक्का मद्दतमा ८१ रन बनाए। आसिफले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे।

दिपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको क्यामिओ पारी खेल्दै फिनिसिङमा मद्दत गरे। दीपेन्द्रले २ चौका र ३ छक्का प्रहार गरे। कुवेतका यासिन पटेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। मोहम्मद सफीक र मोहम्मद असलमले १–१ विकेट लिए।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए। मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए। रविजा सन्दरुवानले २६ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिँदा नन्दन यादवले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट हात पारे।

लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। नेपालले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोली हङकङसँग शनिवार खेल्नेछ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा र कुवेत दोस्रो स्थानमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट