छोरीलाई बलात्कार गरेको फोटो/भीडीओ जीमेलमा सेभ गर्दा पक्राउ परे दुराचारी बाबु

वीरगञ्ज– आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका २ को छपकैयाका एक ब्यक्तिलाई पक्राउ गरेको छ। अश्लील फोटो/भीडीओ जीमेलमा सेभ गरेर राख्दा उनको पोल खुलेको हो।
नेकमेक (National Center for Missing & Exploited Children: NCMEC) नामको अन्तर्राष्ट्रिय बालसंरक्षण संस्थाको Cyber Tipline Report 207962886 को आधारमा ती ब्यक्ति २२ चैतमा पक्राउ परेका हुन।
बाल यौन दुर्व्यवहारसम्बन्धी सूचनाका आएको र सोही सूचना बमोजिम नेपाल प्रहरीको साइबर ब्युरोको समन्वयमा ती पुरुषलाई पक्राउ गरिएको पर्सा प्रहरीका डीएसपी किशोर लम्सालले बताए। प्रहरीका अनुसार पीडकले आफ्नो जीमेल एकाउण्टको ड्राईभमा अश्लील सामग्री राखेका थिए।
उक्त अश्लील तस्बिरबारे नेकमेकले नेपाल प्रहरीलाई रिपोर्ट गरेको थियो। त्यसपछि साइबर ब्युरोले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो। प्रहरीले ती ब्यक्तिको गोप्य राखेको छ। प्रहरीले उनको साथबाट सम्बन्धित भीडीओ समेत बरामद गरेको छ।
उनीविरुद्ध करणी सम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको मुद्दामा अनुसन्धान गर्न पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिईएको डीएसपी लम्सालले बताए।