सञ्चो उत्पादन गर्ने कम्पनीमा आगजनी गर्ने ४ जना पक्राउ, २८ करोडको क्षती

काठमाडौँ– १५ चैतको राजावादीहरूका क्रममा कोटेश्वरको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ का दिनेश खड्का, बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ, ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का सुशील बराल र रामेछापको गोकुलगंगा गाउँपालिका–२ का केशव बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीका अनुसार दिनेश १८ चैत, सुशील र केशव १९ चैत तथा कुमार आईतबार पक्राउ परेका हुन। उनका अनुसार तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेका थिए।

तामाङ ट्राफिक लाइट तोडफोड गर्दा लगाएको टीसर्ट लगाएरै घुमिरहेको अवस्थामा पक्राउ परेका हुन्। राजावादी समर्थकको तोडफोड र आगजनीमा कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

आगजनीमा भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त भएका छन्। दर्जन बढी गाडी र मोटरसाइकल खरानी भएका छन्। २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको संकलन र प्रशोधन गर्दै आएको छ।

स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ। कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ।

२०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चोको उत्पादन हुन थालेको छ। कम्पनीमा केही स्याथी, केही मासिक करार र केही ज्यालादारी कर्मचारी छन्। कम्पनीमा ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत रहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट