भारतीय सेनाको हतियार अडिट गरेको गफ लगाउने ज्ञानेन्द्र शाहीले ‘धारा २७४’ भन्दै पत्रकारलाई पनि हावामै उडाए

काठमाडौँ– नेपालको संघीय संसदमा कस्ता–कस्ता सांसद छन, भनिरहनु परेन। नेपाली जनता आफना सांसदको योग्यता, क्षमता र अनुभवका बारेमा जानकार छन्। कतिपय सांसदहरू उच्च योग्य, अनुभवी र प्रभावशाली छन् भने केही केवल राजनीतिक समीकरण वा कोटा प्रणालीका आधारमा छानिएका छन्, जसको अनुभव वा क्षमता सिमित छ।

कोही सांसद जनताका पीरमर्कालाई मुद्दा बनाएर अनेकौ सपना देखाएर चुनाव जितेका छन्। उनीहरु आदर्शवादी कुरा गर्छन, झुठो बोल्छन्, मिडियामा चर्का कुरा गर्छन र सधैंभरी चर्चामा रहन्छन्। तर, काम भने माखो मार्दैनन्।

तीनै मध्येका एक हुन– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाही। उनले पछिल्लो पटक संविधानको धारा २७४ का विषयमा हावादारी गफ लगाएर चर्चा पाए। शाहीले धारा २७४ मा रहेको व्यवस्था भन्दै पत्रकारका अगाडि उट्पट्याङ्ग गफ लगाए। राजतन्त्र पुनस्र्थापना अभियानमा लागेका उनले संविधानको धारा २७४ मा वर्तमान संविधान मान्दिन भन्ने नागरिक पनि नेपालमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको बताए।

सामाजिक सञ्जालमा भेटिएको एउटा भीडीओमा उनले संविधानको धारा अध्ययनका लागि पत्रकारलाई अर्तिसमेत दिएका छन्। ‘२७४ ले के भन्छ, सुन्नुस्। यो संविधान मान्दिनँ भन्ने मान्छे पनि यो देशमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको छ। संविधानको धारा २७४ ले के भन्छ पढेर सुनाउनुस् न। तपाईं संविधान आफू नपढ्ने,अनि अर्काले यो गरिदिएन भनेर भ्युज कति आउँछ भनी काम गर्ने? संविधान २७४ तपाईंले पनि पढेर आउने। नपढेर फ्याट्ट भन्ने होइन।’– उनले भनेका छन्।

तर, संविधानको भाग ३१, धारा २७४ मा संविधान संशोधनको विषय उल्लेख छ। पहिलो उपधारामा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने उल्लेख छ। सोही धाराको उपधारा २ मा अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ भनेर लेखिएको छ।

उसो त, शाही हावा गफ दिनमा अगाडि नै छन्। उनले आफू चार्टर्ड अकाउन्टेन्ट रहेको र भारतीय सेनाको हतियार अडिट गरेको गफ लाएका थिए। जुन कुरा अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन। जानकारहरुका अनुसार काठमाडौँको त्रिचन्द्र कलेजबाट आईएस्सी गरेका उनी त्यसपछि सिए पढ्न भन्दै भारतको राजधानी नयाँदिल्ली पुगेका भने थिए। तर, कलेज भर्ना नै नभई नेपाल फर्किएका थिए।

स्रोतका अनुसार शाहीले दिल्लीमा एउटा चार्टर एकाउन्टेन्ट फर्ममा काम गरेका थिए। तर त्यहाँ कार्यरत कामदारहरुसँग अराजक व्यवहार गरेकाले उनलाई निकालिएको निकटष्थहरुले बताँउदै आएका छन्।

चामल ब्यापारीको १२ लाख नतिरेको आरोप
शाहीमाथि कालिमाटीका गरिव चामल ब्यापारीको उधारो १२ लाख नतिरी बाउन्स चेक भिडाएर हिंडेको आरोप लाग्ने गरेको छ। यो आरोप पुरानै हो। स्रोतका अनुसार ०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौँमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए।

काँडाघारीमा केटिएमबज डट कम नामको कम्पनी खोलिएको थियो। पछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले। त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टीएर भिन्न भए। तर शाहीले भने सवारी साधनको पछाडि भागमा चामल, विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाले।

त्यहि क्रममा (२०७५ सालमा) कालिमाटीको जय पशुपतिनाथ सप्लायर्सबाट करिव ९ लाख रुपैयाँ बराबरको ८ सय ४० बोरा चामल उधारोमा उठाए। सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीका अनुसार उनले त्यसका सावाँब्याज केही तिरेका छैनन्।

केही समयपछि उनले अग्रहरीलाई एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक दिएका थिए। तर, बैंक खातामा पैसा नभएकाले चेक बाउन्स भएको अग्रहरी बताउँछन्। शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन्।

को हुन ज्ञानेन्द्र शाही ?
गत निर्वाचनमा जुम्ला क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शाही ०४८ माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका–३ पिगी (साबिक नराकोट गाविस– ७) मा जन्मिएका हुन। उनको असली नाम ज्ञानबहादुर शाही हो। उनी विशेषतः सामाजिक सञ्जालमा छाइरहने पात्र हुन। उनले कक्षा पाँचसम्म गाउँकै प्राथमिक विद्यालयमा पढेका थिए भने कक्षा ६ देखिमाथि पनि जुम्लामै अध्ययन गरे।

राजनितीमा आउनुअघी भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचय बनाएका उनी भ्रष्टाचारका फाइल हातमा लिने, युटुवरलाईसँगै लगेर चर्को–चर्को आवाजमा बोल्थे। ०७६ वैशाख १८ गते सुर्खेतमा गरेको कार्यक्रममा पत्रकारहरू उपस्थित नभएपछि पत्रकारहरूलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परे।

त्यसो त उनलाई लामो समयदेखी नेपालमा भ्रष्टाचार विरोधी संघर्षमा रहेको अभियान नेपालका लागि नेपाली अभियानमा सहभागी गराई अभियानका संयोजक डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सहयोग गरेका थिए । तर अभियानमा रहँदा अराजक र चरित्रहिन व्यवहार र आर्थिक अपारदर्शिता गरेको भन्दै शाहीलाई उनिहरुले अभियानबाटै बर्खास्त गरिदिएका थिए।

त्यसपछि उनले आफ्नै नेतृत्वमा अर्को अभियान सञ्चालन गरे। पछि उनले आफनो नयाँ अभियानलाई नै राप्रपामा समाहित गराए। हल्लाहल्लैका बीच एकाएक राप्रपामा प्रवेश गरेका उनी राप्रपाको प्रवक्ता बने। हाल उनी राप्रपाको प्रवक्तासहित संसदमा प्रमुख सचेतकको रुपमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट