तीनकुने प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँ रातारात बीएण्डसी पुगेको खुलासा, मोरङमा भेटियो प्रसाई चढेको स्कारपिओ

काठमाडौँ– तीनकुनेको राजावादी प्रदर्शन हिंसात्मक भएपछि फरार भएका प्रदर्शका फिल्ड कमाण्डर दुर्गा प्रसाईं त्यहाँबाट भागेर एकै पटक झापाको विर्तामोड स्थित अफनै अस्पताल बीएण्डसी पुगेको खुलेको छ। यसअघि उनी ठोरी हुँदै भारत पुगेको हल्ला चलेको थियो।

१५ चैतमा प्रसाईंको नेतृत्वमा भएको राजावादी प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको छ। प्रसाईंको खोजीमा ३ वटा प्रहरी युनिट जुटेका छन्। उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भईरहेको छ।

प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई हालसम्म फेला परेका छैनन्। प्रसाईं चढेर गएको स्कोर्पियो प्रहरीले नियन्त्रणमा लिएको छ। स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छोडेको बयान दिएका छन्।

तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगेर स्याउ, केरा र दुध खाएर उनी हिँडका थिए। चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन्।

प्रसाईं चढेको स्कर्पियोको अघिल्लो सिटमा गाडी धनी मुकुन्द दाहाल थिए भने चालक ईश्वर विक थिए। पछाडिपट्टी दुर्गा प्रसाईं र उनका सुरक्षागार्ड दिपक खड्का बसेका थिए। स्रोतका अनुसार, त्यसपछाडि प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक दुरेन राई बसेका थिए। उनी झापाको कमल गाउँपालिका–४, सितापुरीका स्थायीवासी हुन्।

गाडीमा अर्का एकजना नाम नखुलेका व्यक्ति समेत भएको खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पनि पक्राउ गरेको छ। दाहाल इटहरीबाटै पक्राउ परेका हुन। दाहालले प्रसाईं चढेको गाडी भने मोरङस्थित आफ्नो ससुरालीमा लगेर राखेका थिए।

प्रहरीले शनिबार बीएण्डसीमा समेत टोली पठाएको थियो। यद्यपि, त्यसअघि नै उनी भागिसकेको फेला परेको छ। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचका क्रममा प्रसाईँ बीएण्डसीमा केही समय बसेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारततिर पसेको हुनसक्ने देखिएको छ।

प्रसाईंले आफ्नो मोबाइल काठमाडौंको गैरीगाउँमै स्वीचअफ गरिसकेका थिए। प्रसाईं ‘जनकमाण्डर’ तोकिएको शुक्रबारको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु र २० जना प्रहरीको गोलीबाट घाइते भएका छन्। प्रहरीले यसमा संलग्न रहेको आरोपमा राप्रपाका नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतका व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट