होलीका दिन छुरा प्रहार गरी हत्या गरिएका अंशुका आफन्तमाथि प्रहरीले बर्सायो अश्रुग्याँस

जनकपुर — होलीका दिन (२ चैत) कुर्ता च्यातिएको विषयमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको विषयमा प्रहरीले सम्वेदनशिलता नदेखाउँदा आज धनुषामा दोहोरो झडप भएको छ।

छुरा प्रहार गरी हत्या गरिएका जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बिन्धी का १५ वर्षीय अंशु यादवको हत्यामा संलग्नलाई कारबाही नगरेको भन्दै विरोधमा रहेका स्थानीयसँग प्रहरीको झडप भएको हो।

पीडितहरुले विहान ९ बजेदेखि जनकपुर–जलेश्वर सडक अन्तर्गत विन्धीमा टायर बालेर प्रदर्शन सुरु गरेका थिए। दोसीलाई पक्राउ गरी कारवाही र पीडितलाई न्याय दिन माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयका कारण सडक अवरुद्ध भएको थियो।

सडक अवरोध खुलाउन सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडप भएको जनाईएको छ। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। स्थानीयले टायर बालेर बाटो अवरोध गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणबहादुर सिंहले बताए।

झडपमा दर्जनौं स्थानीय र सुरक्षाकर्मी पनि सामान्य घाइते भएका छन्। अंशुको हत्या आरोपमा प्रहरीले २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ। उनले अंशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी हत्या गरेको पीडित पक्षको भनाइ छ।

हत्यामा संलग्न भएका ६ जना अझै पक्राउ नपरेको र प्रहरी सुस्त देखिएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरुका अनुसार ६ महिनाअघि मात्रै अंशुका पिता पप्पुको मृत्यु भएको थियो। एक्लो छोरो पनि गुमेपछि आमा अर्चना सहाराविहीन बनेकी छिन्।

धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले भने हत्यामा संलग्न भनिएका अन्य भारतमा लुकेर बसेकाले पक्राउ गर्न ढिलाइ भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट