गाजामा इजरायलको भिषण आक्रमण, ३२६ को मृत्यु

काठमाडौँ– इजरायलले गाजा पट्टीमा मंगलबार भीषण आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएको उद्धारकर्ताहरुले जनाएका छन्।
अलजजिराका अनुसार मारिने अधिकांश बालबालिकाहरू छन्। उनीहरुको शव गाजाको अस्पतालमा पुगेको छ। सेतो तन्नााले ढाकिएका शवलाई अस्पतालको शवगृहमा लगिएको छ। एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरू खान युनुसको नासेर अस्पतालमा दौडिरहेको देखिएको छ।
इजरायलले दक्षिणी गाजाका खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल–बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको हो।
गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ। जनवरीको युद्धविरामपछि मंगलबारको आक्रमण भिषण हो।
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ। इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
हमासले इजरायली बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि आक्रमणको आदेश दिइएको थियो। एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए।