होलीमा विवाद हुँदा १८ वर्षीय युवकको छुरा हानी हत्या, शव सडकमा राखेर आफन्तको प्रदर्शन

जनकपुर– होली खेल्ने क्रममा छुरा प्रहार गरी एक युवकको हत्या भएको विरोधमा आज जनकपुरको जलेश्वर सडक खण्डमा प्रदर्शन भएको छ। मृतकका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका हुन्।
छुरा प्रहारबाट ज्यान गुमाएका पप्पु यादवको छोरा १८ वर्षीय आशु यादवको शव सडकमै राखेर प्रदर्शकारीले जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरे। घटनामा संलग्न दोषी सवैलाई पक्राउ गरी कारवाही तथा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन भएको धनुषाका डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार अनुसार शनिबार साँझ करिव ५ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धि चोकमा होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेद्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए।
छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो। प्रहरीले धर्मेन्द्रलाई छुरासहित पक्राउ गरेको छ।
आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएपछि आशुको शव लिएर आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन।