‘पूर्वराजाको भान्जा हुँ’ भन्दै सवा करोड बढि ठगेको आरोप लागेका अनुप सिंह कारागार चलान

काठमाडौँ– सवा करोड भन्दा बढि ठगीको आरोप लागेका पूर्वराजा ज्ञानेन्द्र शाहका नक्कली भान्जा अनुप सिंह कारागार चलान भएका छन्। ललितपुर जिल्ला अदालतले तोकेको १२ लाख धरौटी नबुझाएपछि उनलाई कारागार चलान गरिएको हो।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको २८ फागुनको इजलासले उनलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी नबुझाएपछि काठमाडौं महानगरपालिका–२७ का ५३ वर्षीय सिंह कारागार चलान भएका हुन्।

सिंहलाई नख्खु कारागार पठाइएको छ। यही ठगीमा सिंहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका तीन जना भने धरौटी तिरेर रिहा भएकाको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सिंहका सवारी चालक ललितपुरका सचिन व्यञ्जनकार ६० हजार, उनका वकिल इलाम घर भएका दीपकराज खनाल १ लाख र कलंकीस्थित दिव्यज्योति कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजकुमार केसी २५ हजार धरौटीमा रिहा भएका छन्।

यही ठगी कसुरका प्रतिवादी रामचन्द्र खनाल फरार छन्। आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउने सिंहले अमेरिका पठाउने भन्दै सवा करोड बढी ठगी गरेको आरोप छ। उनले एकै महिलाबाट मात्रै ९७ लाख रुपैयाँ ठगी गरेको जाहेरी थियो।

उनी यसअघि पनि पक्राउ परेर मुद्दा खपेका व्यक्ति हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट