पूर्वराजाको स्वागत र्‍यालीमा योगीको पोष्टर बोक्ने राणा भागे, गोरखपुर पुगेर भने– प्रहरी मेरो पछि लाग्यो

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आईतबार भएको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोष्टर बोकेका प्रदीपविक्रम राणा अहिले भागेर गोरखपुर पुगेका छन्।

पोखराबाट काठमाडौं आएका शाहको स्वागतका क्रममा बोकेको पोस्टर विवादित बनेपछि प्रहरीले आफुलाई खोजी गरिरहेकाले भागेको उनले वताएका छन्। भारतीय समाचार संस्था नवभारत टाइम्सलाई प्रतिक्रिया दिएका राणाले भारत सरकार र योगी आदित्यनाथसँग मिलेर आफू सरकार गिराउने खेलमा रहेको प्रहरीले ठानेको जिकिर गरेका छन्।

काठमाडौं–१६ घर भएको वताईएका ५८ वर्षीय राणा मंगलबार भागेर गोरखपुर पुगेका हुन्। योगी आदित्यनाथलगायत भारतीय नेताहरूसँग आफ्नो भेट नभएको उनको भनाई छ। ‘मैले कुनै भारतीय राजनेतासँग भेट गरेको छैन, पैसा लिनु त परको कुरा। म आफ्नो राजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथजीको सम्मान गर्दछु। मेरो गल्ती यत्ति हो।’– उनले भनेका छन्।

राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ।’ पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन्।

‘यस क्रममा मैले राजा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर एकसाथ बोकेको थिएँ। मलाई लाग्छ, जसरी योगीजी हिन्दु र हिन्दुत्वका लागि लगातार संघर्ष गर्दै आउनुभएको छ, उहाँ हामी सबैको वैश्विक नेता हो। धार्मिक मान्यता अनुसार पनि म उहाँलाई धेरै मन पराउँछु।’– उनले भनेका छन्।

आफू नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्छ भन्ने पक्षमा संघर्षरत रहेको राणाले बताएका छन्। राणाले बताए अनुसार उनकी छोरी पाइलट र छोरा डाक्टर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट