इटहरीमा विवाह मण्डपबाट बेहुला–बेहुलीसहित ५ जना पक्राउ

इटहरी– सुनसरीको इटहरीस्थित राधाकृष्ण मन्दिरमा भईरहेको एक विवाह मण्डपबाट प्रहरीले बेहुला–बेहुलीसहित ५ जनालाई पक्राउ गरेको छ।
१८ वर्षभन्दा कम उमेरकी बालिकाको विवाह गराईरहेको फेला परेपछि वेहुला वेहुलीसहित बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बेहुला इटहरी उपमहानगरपालिका–११ का २८ वर्षीय उपेश नेपाल, बेहुलाका बुवा ढुण्डिराज नेपाल, वेहुली रामधुनी नगरपालिका –६ की १८ बालिका, उनका बुबा दिनेशकुमार दाहाल र विवाह गराउने पण्डित इटहरी–११ का ४५ वर्षीय दिनेशकुमार भट्टराई छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। नगर बाल सञ्जाल इटहरीमार्फत खबर पाएपछि प्रहरी मन्दिरमा पुगेको थियो। पक्राउ परेकाहरूमाथि बालविवाह सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।
नेपालको कानुनअनुसार विवाहका लागि केटीको उमेर कम्तीमा २० वर्ष हुनुपर्ने ब्यवस्था छ।