रसिया र युक्रेन युद्धमा मारिए एमालेबाट चुनाव जितेका पूर्ववडाध्यक्ष

काठमाडौँ– नेकपा एमालेबाट निर्वाचित रोल्पाका एक जना पूर्ववडाध्यक्ष रसिया र युक्रेनको लडाईँमा मारिएका छन्। सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको एक साताअघि दुई देशबीचको लडाईमा मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार असोज ०८० मा रसियन सेनामा भर्ति भएका बुढाथोकी केही सातादेखि सम्पर्कविहिन थिए। युक्रेनसँगको युद्धमा उनी मारिएका खबर परिवारले २४ फागुनमा पाएका हुन। उनले लडाईमा ज्यान जोखिममा रहेको वताउँदै घर फर्किने बताउँदै आएका थिए।
यसैक्रममा सोमबार बेलुका अचानक उनको मृत्युको खवर सामाजिक सञ्जालमा फैलिएको हो। सुनछहरी गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुनले घटना निकै दुःखद भएको बताएका छन्। बुढाथोकीको मृत्युको खबरले सिंगो गाउँ शोकमग्न छ। उनका बुबाआमा, पत्नी, एक छोरा र एक छोरी छन्।
पूर्व गाउँपालिका अध्यक्ष पुनका अनुसार बुढाथोकी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। ०७९ को स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षकै उम्मेदवार रहेका उनी पराजित भए।
त्यसपछि उनी रसियन सेनामा भर्ति हुन गएका थिए।