एक करोड बीमा रकमको लोभमा आफनै पसलमा आगो लगाएका शर्मा पक्राउ

पोखरा– एक करोड बीमा रकम पाउने लोभमा पोखराका एक युवकले कास्कीको पोखरा–८ न्युरोड स्थित आफनै ‘शर्मा आइटी हब’मा आगो लगाएको खुलासा भएको छ।

गत पुसमा खुलेको पसलमा ११ फागुनमा आगलागी भएको भन्दै सञ्चालक पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भएका रमेश शर्माले १ करोड रुपैयाँको बीमा रकम दाबी गरेका थिए। मोबाइल चार्ज गर्दा पसलमा आगो लागेको र प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको उनको भनाई थियो।

तर, पसलमा स्वयमले आगो लगाएर क्षतिपूर्ति माग गरेको खुलेपछि उनी पक्राउ परेका छन्। प्रहरीले घट्नाको अनुसन्धान गरिरहेको छ। कास्की प्रहरी एसपी श्यामबाबु ओलियाका अनुसार शर्माले गत माघ महिनामा मात्रै पसलको इन्स्योरेन्स गराएको पाइएको छ। बीमा रकम दाबी गर्नकै लागि आफैंले आगो लगाएको प्रमाणहरु फेला परेपछि शर्मालाई पक्राउ गरीएको उनको भनाई छ।

प्रहरीका अनुसार उनले पोखरा–२७ तालचोकमा पनि शर्मा आइटी हब सञ्चालन गर्दै आएका थिए। ५ वर्ष अगाडिदेखि सञ्चालनमा आएको उक्त पसलमा ६ जना कामदारसमेत छन्। उनले गत पुसमा न्युरोडमा पसल खोलेर माघमा बीमा गरी १९ फागुनमा आफैंले आगो लगाएको खुलेको एसपी ओलियाले जानकारी दिए।

पोखरामा बीमा रकमका लागि आफनै पसलमा आगो लगाएको यो दोस्रो घट्ना हो। गत १६ साउनमा पोखरा–६, लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि आफनैंले आगो लगाएको आरोपमा सञ्चालक सुजन गहतराज पक्राउ परेका थिए।

स्याङ्जाको आँधिखोला गाउँपालिका–४ का गहतराजले डेढ करोड रुपैयाँको क्षति दाबी गरेका थिए। ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेपछि उनी पक्राउ परेका थिए। उनलाई सघाउने पवन नेपाललाई पनि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

दुवैजना पुर्पक्षका लागि थुनामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट