महिलाको हत्या गरी बोरामा पोको पारेर खोलामा शव, ५ जना पक्राउ

काठमाडौँ– काठमाडौँमा करिव ३५ वर्षीया महिलाको हत्या गरी बोराभित्र शब पोको पारेर खोलामा फ्यालेको आरोपमा प्रहरी ५ जनालाई पक्राउ गरेको छ।
हत्या आरोपमा सर्लाहीको बागमती ढुंगेखोला घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भई सोही वडामा बस्ने २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ ४ घर भई सोही वडामा बस्ने २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भई गोकर्णेश्वर बस्ने २० वर्षीया पूजा परियार र एक नाबालक पक्राउ परेका छन्।
पाँचै जनालाई आईतबार प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो। हत्या भएकी महिलाको सनाखत भएको छैन।
शनिबार दिउँसो करिब १२ बजे गोकर्णेश्वर नगरपालिका–७, नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा डुबेको अवस्थामा करिव ३५ वर्षीया महिलाको शव फेला परेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिलराज बोहोराका अनुसार अनुसन्धानको क्रममा महिलाको हत्या भएको खुलेको र उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
आरोपीलाई काठमाडौं जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।