आवासीय चिकित्सकको आत्महत्या प्रयास प्रकरणमा विभागिय प्रमुखसहित ४ चिकित्सक निलम्वित

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल) का ४ जना चिकित्सकलाई निलम्बन गरेको छ। अस्पतालकी एक महिला आवासीय चिकित्सकले आत्महत्या गर्ने प्रयास गरेको घट्नामा उनीहरु कारवाहीमा परेका हुन।
काउन्सिलले अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई एक साताका लागि निलम्बन गरेको हो।
१२ फागुनमा बसेको काउन्सिलकोपूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न÷नगराउन केयु स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशन दिएको छ। चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन आदेश दिईएको छ।
विभागीय प्रमुखसहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेको घट्ना सार्वजनिक भएको थियो। त्यसपछि त्यहाँ अध्ययनरत विद्यार्थी र नेपाल मेडिकल एसोसिएसनको जुनियर डाक्टर समितिले छानबिनको माग गरेका थिए।
त्यो विषयमा उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो। रजिष्ट्रार डा. सतिश देवका अनुसार थप छानविनका लागि डा. विश्व दवाडीको नेतृत्वमा डा. कुन्जाङ शेर्पा, डा. आनन्द शर्मा, डा. रुपक घिमिरे र राजेश्वर अधिकारी सदस्यरहेको समिति बनेको छ।