बन्दुक ताक्न मन छ (कविता)

संस्कार दाहाल, चितवन

वन जोगाउने सरकारकै हात,
तर बन्दुक ताक्ने सरकारकै जात !

बिचरा त्यो हात्तीले एक गाउँमा हानी गरेको थियो
हामीलाई पनि त बन्दुक ताक्न मन छ नि,
टाउको नै ताकेर गोली हान्न मन छ नि
तर,
ती निर्दोष प्राणीलाई होइन,
तिमी जस्ता दोषी सरकार
जसले,
सारा देशलाई भ्रष्टाचारको दलदलमा
बाँच्न बाध्य पारेका छन्।

बन्दुकका नालहरू फर्किनुपर्छ,
न्यायको पक्षमा बोल्नुपर्छ,
अन्यायको अन्त्य गर्नुपर्छ,
न कि तिमी जस्ता कायरहरूको
कुर्सीलाई जोगाउन !

हामीलाई पनि त क्रान्ति गर्न मन छ,
तर,
तिमीले बनाइदिएको नियम छ –
दोषीहरुलाई सलामी,
निर्दोषीहरूलाई गोली !

तिम्रो बन्दुक सकिन्छ,
तर हाम्रो आवाज कहिल्यै मर्दैन
सुन् सरकार !
अब बन्दुकका आवाज होइन,
जनताको जयघोष उठ्नेछ
किनकि तिम्रो शासन सकिन्छ,
तर हाम्रो क्रान्ति कहिल्यै मर्दैन ।

यदि तिमीले साँच्चिकै दोषीलाई
सजाय दिएको जस्तो लागे,
आफ्नो अनुहार एक पटक ऐनामा हेरिदिनु।
निर्दोष हात्तीलाई मार्ने सरकारको नीति,
कहाँ गएको छ तिम्रा मानवता,
आफ्नो पोल्टो खोलेर हेरिदिनू !

हामीलाई पनि त सरकारलाई हाँस्दै चुनौती
दिन मन छ नि,
कहाँ छ हाम्रो अधिकार, थाहा दिन मन छ नि
जनताको आवाज सुन्नु छैन भने,
हामीलाई पनि त बन्दुक ताक्न मन छ नि,
टाउको नै ताकेर गोली हान्न मन छ नि !!

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट