सप्तरीमा एक महिलाले २ सरकारी कार्यालयको कर्मचारी भएर वर्षौदेखि दोहोरो सुविधा लिँदै आएको खुलासा

राजविराज— एउटै ब्यक्ति फरक–फरक कार्यालयमा काम गरेर काम अनुसारको सेवा/सुविधा लिँदै आएको त देखे/सुनेकै हो। निजी लगानीका कार्यालयहरुमा यस्तो हुनु सामान्य मानिन्छ। तर, सरकारी कार्यालयमा यस्तो सम्भव छ ?

सामान्यतयाः एउटै ब्यक्ति फरक–फरक सरकारी कार्यालयमा काम गरेर सवै कार्यालयबाट सेवा/सुविधा लिनु असम्भव छ। कानुनी रुपमा पनि दोहोरो सुविधा लिनु अपराध हो। तर, सप्तरीमा भने यस्तो असम्भव कामलाई पनि सम्भव बनाएर एक महिलाले वर्षौदेखि दोहोरो सुविधा लिईरहेको खुलासा भएको छ।

रुपनी गाउँपालिकाकी शारदाकुमारी चौधरी अहिले रुपनी गाउँपालिका–५ को वडा कार्यालयमा कम्प्युटर अपरेटर र राजविराज नगरपालिका–१६ स्थित नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयको बालविकास केन्द्रमा शिक्षिकाको रुपमा दोहोरो जागिर गरिरहेकी छिन्।

रुपनी गाउँपालिकाबाट कम्प्युटर अपरेटरको रुपमा उनले मासिक २२ हजार रुपैयाँ र राजविराज नगरपालिकाबाट बालविकास शिक्षिकाको रुपमा १७ हजार रुपैयाँ तलब बुझ्दै आएकी छिन्।

जानकारी अनुसार शारदा ०५७ सालमा तत्कालीन बोरिया गाविसमा बालविकास सहजकर्ताको रुपमा नियुक्त भएकी थिइन्। १९ बैशाख ०५७ को जिल्ला शिक्षा कार्यालयको निर्णय अनुसार उनलाई २२ वैशाखदेखि बालविकास सहजकर्ताको नियुक्ति दिइएको थियो।

बोरिया गाबिस अहिले राजविराज नगरपालिकाको वडा नम्बर १६ भएको छ। यो वडामा रहेको नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय मातहत बालविकास केन्द्रको बालविकास शिक्षिकाको रुपमा शारदाको म्याद थपिएपछि उनको जागिर निरन्तर छ।

अर्कोतर्फ, शारदाले १ साउन ०७१ मा तत्कालीन जिल्ला विकास समिति अन्तर्गतको सामाजिक परिचालनका लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत सामाजिक परिचालकको रुपमा करारमा काम सुरु गरेकी थिइन्।

कार्यक्रम सकिएपछि तत्कालीन बसबिटी गाविसले उनलाई सामाजिक परिचालकका रुपमा निरन्तरता दियो। पछि बसबिटी गाविस रुपनी गाउँपालिका–५ भएपछि गाउँपालिकाले उनको करारलाई निरन्तरता दिँदै वडा कार्यालयको कम्प्युटर अपरेटरको काममा लगायो।

अहिले उनी दुवै ठाउँमा काम गर्छिन र दुवै ठाउँबाट तलव भत्ता वुझ्दै आएकी छिन्। उनी स्वयम् पनि दुई ठाउँमा काम गर्दै आएको स्विकार्छिन। आफूले बिहान ६ देखि १० बजेसम्म बालविकास शिक्षिकाको रुपमा समुदायमै गएर विद्यार्थीहरुलाई पढाउने गरेको र दिउँसो कम्प्युटर अपरेटरको रुपमा काम गर्ने गरेको दाबी उनको छ।

नरेन्द्र मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक रामानन्द सुनरैतले शारदा दुई ठाउँमा कार्यरत रहेको सुनेको बताए। रुपनी गाउँपालिकाका कर्मचारी भने यस विषयमा बोल्न चाहाँदैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट