अवैद्य सम्वन्धका कारण घाँटी रेटेर व्यवसायीको हत्या गरी फरार भएका २ जना २१ वर्षपछि पक्राउ

काठमाडौँ– वर्दियामा प्रहरीले २१ वर्षदेखि फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ। एक व्यक्तिको हत्या भएको घटनाका आरोपितमध्ये नवलपरासीको कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कंभुनारायण महतो र ४५ वर्षीय राजु थारु भनिने रामनारायण महतोलाई प्रहरीले पक्राउ गरेको हो।
बर्दियाको साविक मानपुर टपरा गाविस–७ (हाल राजपुर नगरपालिका–८) सडवा गाउँका २८ वर्षीय बाधुराम (बन्धु थारु) को २१ वर्ष पहिला हत्या भएको थियो। घरमा औषधि पसल सञ्चालन गर्दै आएको थारुको पसलदेखि करिव ६ सय मिटर टाढा शव भेटिएको थियो।
१५ जेठ ०६० को राति १० बजे घाँटी रकेटेर बन्धुको हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय वर्दियाका डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार छिमानन्द थारुले औषधि पसलमै काम गर्ने दुई जनाविरुद्ध १८ जेठमा किटानी जाहेरी दिएकी थिइन्।
२६ माघमा बर्दिया जिल्ला अदालतबाट महतोद्वयलाई पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी भएको थियो। सोही जाहेरीका आधारमा २१ वर्षपछि कंभु र रामनारायण पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोद्वयलाई नवलपरासी प्रहरीको सहयोगमा बर्दिया लगिएको छ।
डिएसपी घर्तीका अनुसार बन्धु थारुको हत्या हुनुको पछाडि श्रीमतीसँगको अबैध प्रेम सम्बन्ध कारक मानिएको देखिन्छ। ‘अवैध प्रेम सम्बन्धका कारण पसलमै काम गर्ने दुई जना मिलेर साहुलाई एकान्तस्थलमा पु¥याएर राति घाँटी रेटेर हत्या गरेको खुल्छ,’ डिएसपी घर्तीले भने ‘धेरै पुरानो घटना भएका कारण हामी पुरानो फाइलहरु खोल्ने र घटना बुझ्ने क्रममै छौं।’
हत्यापछि उनीहरु बर्दिया छोडेर नवलपरासीमा गई उतै बस्न थालेका थिए। विगतको सम्बन्धकै कारण महिलाको सहयोगमा उनीहरुको स्थान पत्ता लगाउन र पक्राउ गर्न सजिलो भएको प्रहरीले बताएको छ।