पन्यु तताएर ४ कक्षामा पढ्ने विद्यार्थीको गाला डामेर यातना दिने बोर्डिङ स्कुलकी लेखापाल पक्राउ

काठमाडौँ– तनहुँमा एक निजि विद्यालयकी लेखापालले बालबालिकाले जिस्क्याएको आवेगमा पन्यु तताएर ४ कक्षामा पढ्ने विद्यार्थीको गाला डामिदिएको घट्ना सार्वजनिक भएको छ।

यो घट्ना भीमाद नगरपालिका– ६ मा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलमा मंगलबार भएको हो। प्रभात एकेडेमी भीमाद बजार क्षेत्रमा नाम चलेको विद्यालय हो। प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरीसमेत रहेकी लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएको खुलेको हो।

गाला डामिएका विद्यार्थी १० वर्ष उमेरका छन्। स्रोतका अनुसार विद्यालय जाँदा–आउँदा बालबालिकाले लेखापाल श्रेष्ठलाई ‘काली’, ‘च्याखुरी मिस’ जस्ता शब्दहरू प्रयोग गरेर जिस्क्याउने गरेका थिए। सोही रिसमा श्रेष्ठले घरबाटै पन्यु ल्याई तताएर विद्यार्थीका गाला डामेको एक शिक्षकले बताए।

विद्यालयको कर्मचारी एवम् सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यो घट्नाको अभिभावकले विरोध जनाएका छन्। बालबालिकाका माथि भएको बर्बर यातनाले विद्यालय असुरक्षित रहेको देखिएको अभिभावकहरु बताउँछन्। पछिल्लो घट्नाले विद्यालयप्रति अभिभावक र विद्यार्थीमा वितृष्णा जागेको उनीहरुले वताए।

अभिभावकले दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। तर, अझै पनि किटानी जाहेरी भने परेको छैन। यद्यपी, प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ। घट्नालाई राजनीतिक चलखेल गरी ढाकछोप गर्ने प्रयास भईरहेको पीडित विद्यार्थीका अभिभावक आर्पन सिर्जन घलेले वताए।

भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले घटनाबारे अनुसन्धान गर्नका लागि एउटा कार्यदल नै गठन गर्ने तयारी भईरहेको बताएका छन्। घटनाको प्रकृति हेर्दा तयारीका साथ डामिएको देखिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट