धनुषाको एउटा विद्यालयमा पेस्कीको विषयलाई लिएर हेडमास्टर र शिक्षकबीच कुटाकुट

जनकपुर– धनुषाको एक विद्यालयमा पेस्कीको विषयलाई लिएर प्रधानाध्यापक र राहत शिक्षकबीच कुटाकुट भएको छ।
कमला नगरपालिका–२, माची झिटकैया माध्यमिक विद्यालयका प्रधानाध्यापक जगरनाथ यादव र राहत शिक्षक शिक्षक रोहित यादवबीच आईतबार कुटाकुट भएको हो।
रोहितले आफनो बुबाको मृत्यु भएको भन्दै प्रधानाध्यापकसँग ५० हजार पेश्की मागेका थिए। तर, प्रधानाध्यापकले उनलाई २५ हजार दिन खोजे। त्यसपछि दुई जनाबीच चर्काचर्की भएको थियो। विवाद वढ्दै गएपछि कुटाकुट नै भएको जनाईएको छ।
रोहितले आफुले मागे जति नै पेश्की दिनु पर्ने अडान राखेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले बताए। उनका अनुसार विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको थियो।
मेयर विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी पाएको र त्यस विषयमा वुझ्न वडाध्यक्षलाई पठाएको बताए। वडाध्यक्ष ठक्कु यादवका अनुसार बुवाको निधन भएकाले शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए। तर प्रधानाध्यापकल तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि विवाद भएको हो।
आफू समस्या समाधानमा लागेकोप उनले जानकारी दिए।