ललितपुरबाट अपहरण गरी पञ्जाव लान ठिक पारिएका ४ वर्षीय बालकको उद्धार, भियतनामी नागरिक पक्राउ

काठमाडौँ– ललितपुरबाट अपहरण गरी भारतको पञ्जाव लाने तयारी गरिएका ४ वर्षीय बालकको प्रहरीले कलंकीको एक होटलबाटबाट उद्धार गरेको छ। बालकको अपहरण आरोपमा भियतनामी नागरिक मि हाङ किन्हालुनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१२ पाटन बस्ने चेपाङ थरका चार वर्षीय बालक २४ माघमा अपहरणमा परेका थिए। राति करिव साढे ८ बजे बालक हराएको भन्दै उनकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
खोजतलास गर्ने क्रममा कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको उद्धार गरेको हो। उनलाई पञ्जाव लान बसको टिकट काटिएको र पञ्जाबमा राख्ने व्यवस्था समेत मिलाई सकिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिले २५ माघको बिहान साढे १० बजे काठमाडौंबाट वीरगञ्ज जाने २ वटा टिक काटेका थिए। ६८१८ नम्बबरको ‘न्यू साजन एसी सोफा विथ स्लीपर कोच’मा सिटी ‘बी’ को ३ र ४ नम्बरको टिकट बुकिङ गरेको पाईएको छ। बस चढेर वीरगञ्ज जान सजिलोका लागि उनी इलाम मेची गेस्ट हाउसको १०७ नम्बर कोठामा बसेका थिए।
प्रहरीले गेस्टहाउसमा छापा मारेर बालकको उद्धार र भियतनामी नागरिकलाई पक्राउ गरेको हो। पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका हुन। उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको पाईएको छ। नेपाल आएको ११ दिनपछि उनी भारतको नयाँ दिल्ली गएका थिए। २७ अप्रिल २०२४ मा उनी भारतको पञ्जाबबाट सडकमार्ग हुँदै फेरी नेपाल आए।
त्यसपछि उनी स्वयम्भूस्थित एक होटलमा २ महिना, ठमेलमा एक हप्ता र बानेश्वरस्थित कात्यानी चोकमा रहेको ग्राण्ड अल्फ्रेन्सको ब्वाइज होस्टललमा बसेको खुलेको छ। उनी स्वयम्भू, बौद्ध, कपन लगायत गुम्बाहरुमा लामा भासा सिक्न भन्दै जाने गरेका थिए।
घुमफिरकै क्रममा गत २५ डिसेम्बरमा (क्रिसमस मनाउने क्रममा) पाटनको कृष्ण मन्दिर पुगेका वेला उनको बालकका दाइसँग भेट भएको थियो। त्यसै बेला उनले बालकलाई चिप्स, चकलेट लगायतका खानेकुरा दिएर आफूतर्फ आकर्षित गरेका थिए।
त्यसपछि योजनापूर्वक बालकको अपहरण गरेको अनुशन्धानबाट खुलेको छ। बालकलाई उनले पाटनको कृष्ण मन्दिरबाट इनड्राइभमार्फत ट्याक्सी बुक गरी झम्सीखेल र त्यहाँबाट अर्को ट्याक्सी लिएर सुन्धारा पु¥याएका थिए। त्यहाँ श्री गुरु होटलमा बसेर उनी कलंकी पुगेका थिए।