रक्सी खाएर हल्ला नगर्न सम्झाउँदा एमालेका विद्यार्थी नेताले प्रहरी कुटे, घाईते प्रहरीको वीर अस्पतालमा उपचार हुँदै

काठमाडौँ— काठमाडौँको ठमेलस्थित छायाँसेन्टर अगाडि बिहीबार मध्येराति ड्युटीमा रहेका दुई जना प्रहरीमाथि सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरुले निर्घाट कुटपिट गरेका छन्।

प्रहरी वृत्त दरबारमार्गबाट मोटरसाइकलमा ड्युटीमा खटिएका प्रहरी हवल्दार रघुलाल घर्ती र प्रहरी जवान नगेन्द्र विष्टमाथि अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल जोशी, रमेश फुलारा, गणेश शाही, दिनेश सिग्देल, गोपालजंग शाहीसहित ६ जनाले कुटपिट गरेका हुन।

जोशी अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियू सभापति र सिग्देल सोही क्याम्पसका प्राक उपाध्यक्ष हुन। मदिरा गरी होहल्ला गर्दै गरेका विद्यार्थी नेताहरुलाई सम्झाउन खोज्दा प्रहरीमाथि आक्रमण भएको हो। प्रहरीमाथि आक्रमण गरिसकेपछि उनीहरु अस्कल क्याम्पसको होस्टेलभित्र छिरेका थिए। आक्रमणकारीहरु शुक्रबार दिनभर बेपत्ता छन्।

प्रत्यक्षदर्शीका अनुसार नेता जोशीले ‘हामीलाई अर्ती दिने तिमीहरू को हौ ?’ भन्दै शुरूमा प्रहरी हवल्दार घर्तीमाथि आक्रमण गरेका थिए। त्यसपछि जवान विष्टले प्रतिवाद गर्न खोजे। त्यसपछि समूहका अन्य व्यक्तिसहित मिलेर दुवै जनालाई कुटपिट गरेका थिए।

औंलाले विष्टको आँखा घोचेका कारण अहिलेसम्म उनको आँखा राम्रोसँग खुलेको छैन। प्रहरी हवल्दार घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। दुवै प्रहरीको वीर अस्पतालस्थित ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।

विद्यार्थी नेताहरुले न्यूनतम मानवीय मर्यादा पनि ख्याल नगरी प्रहरीमाथि कुटपिट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। घाइते प्रहरीको जाहेरीले उनीहरूमाथि मुद्दा चलाइने प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट