तरबारले बर्थडे केक काटेर टिकटकमा भीडीओ हालेपछि एक्सनमा प्रहरी, यसरी पक्राउ परे ७ जना

काठमाडौँ– उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँ उपत्यकाबाट गुण्डागर्दी गरेको आरोपमा ७ जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन्।
खासमा उनीहरूलाई खुकुरी र तरबारले केक काटेको भिडियो सामाजिक सञ्जाल ‘टिकटक’मा पोस्ट गरेका कारण पक्राउ गरिएको हो। आरोपीहरूले ‘शोअप’ गरेर आतङ्क सिर्जना गरेर असुली धन्दा समेत सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।
तरबारले केक काटेर भीडीओ सामाजिक सञ्जालमा हालेपछि भयावह अवस्था आएको उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) टेक बहादुर तामाङले बताए। ‘तरबारले केक काटेपछि सर्वसाधारणमा त्रास बढेको अवस्था छ, त्यसपछि हामीले नियन्त्रणमा लिएका हौँ।’– उनले भने।
पक्राउ परेकाहरु अनुचित लेनदेनमा पनि संलग्न रहेको प्रहरीको आशंका छ। उनीहरुलाई पक्राउ गरेसँगै पुराना गुण्डाहरुको प्रोफाइलिङ पुनरावलोकन गर्ने काम पनि भइरहेको एआईजी तामाङको भनाई छ।
प्रोफाइलिङ गरेपछि गुण्डागर्दी गर्नेहरू विरुद्ध कारबाही गर्ने तामाङले जानकारी दिएका छन्। तरबार चलाउने, गोली चलाउने र समूह बनाएर जबरजस्ती चेकमा हस्ताक्षर गराउने सबै तहका गुण्डाहरूको सूची नवीकरण गरिने तामाङको भनाई छ।