अध्यादेशका पक्षमा मत दिए वापत उपेन्द्रले मागे मधेशको मुख्यमन्त्री, देउवा–ओली लगभग सहमत

काठमाडौँ– सरकारले ल्याएका अध्यादेशहरू पारित गराउन सहयोगका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीको बार्गेनिङ सुरु गरेका छन्।
अध्यक्ष यादवले अध्यादेश पारित गराउन आफुले सहयोग गर्ने तर त्यसको बदलमा मधेस प्रदेश सरकार आफ्नो पार्टीको नेतृत्वमा हुनुपर्ने माग गरेका छन्।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै छलफल गरेका यादवले यसरी आफनो माग अघि सारेका हुन। मधेसमा डा। सीके राउत नेतृत्वको जनमत पार्टीका नेता शतिस सिंहले सरकारको नेतृत्व गरिरहेका छन्।
सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधि सभामा सजिलै स्वीकृत हुने भए पनि राष्ट्रिय सभामा सत्ता पक्षलाई जसपा नेपालको साथ चाहिन्छ। राष्ट्रिय सभामा जसपा नेपालका ३ जना सांसद छन्। सरकारले ल्याएका अध्यादेश मात्र होइन, भविष्यमा ल्याउने विधेयक पारित गर्न पनि राष्ट्रिय सभामा बहुमत आवश्यक पर्छ।
राष्ट्रिय सभामा कांग्रेस–एमाले र लोसपाका गरी २८ सांसद छन्। ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि ३० सांसद चाहिन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको छ। सरकारलाई समर्थन गरेको दललाई मधेस सरकारमा भए पनि सामेल गर्न कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन्।
नेपाली कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारी अनुसार उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको छ। बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको थियो।
तर, जसपा नेपालले अध्यादेशबारे निर्णय लिन नसक्दा प्रतिनिधि सभा र राष्ट्रिय सभामा बिहीबार अध्यादेश पेस गर्ने कार्यसूची नै हटाउन सरकारले आग्रह गरेको थियो। कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर बिहीबारका लागि अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए।