बलात्कार मुद्दामा कसुर प्रमाणित भएपछि फरार भएका लहानका वडा सदस्य पक्राउ, १४ वर्ष कैद बस्नु पर्ने

लहान– बलात्कार मुद्दामा दोषी ठहर भएपछि ‘फरार’ रहेका सिराहाको लहान नगरपालिकाका एक जना वडासदस्यलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएर सजाय भुक्तान गर्न कारागार पठाएको छ।

१४ वर्ष कैद सजाय र २५ हजार जरिवाना तोकिएका लहान नगरपालिका–२४, गोविन्दपुरका वडासदस्य करिब ४५ वर्षीय भोगिन्दर पासमान (भोगी) सोमबार कारागार चलान भएका हुन। उनलाई प्रहरीले लहान– १० बाट पक्राउ गरेर सिराहा जिल्ला अदालतमा उपस्थित गराएको थियो।

०७९ को स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट वडासदस्य निर्वाचित भएका पासमानलाई उच्च अदालत जनकपुर राजविराज इजलासको ८ फागुन ०८० को फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले वताए।

उच्च अदालतले पीडित महिलाको जाहेरीका आधारमा जबर्जस्ती करणी मुद्दामा कैद र जरिवानाको फैसला सुनाएपछि पासवान फरार भएका थिए। उनीविरुद्ध १३ वैशाख ०७९ मा मुद्दा दर्ता भएको थियो। ५ असोज ०८० देखि ८ फागुनसम्म चार पटक सुनुवाई गरी अदालतले पासवानलाई कसुरदार ठहर गरेको थियो।

यसअघि सिराहा जिल्ला अदालतमा पनि यो मुद्दा चलेको थियो। २२ चैत ०७७ मा पासमानसहित उनका छिमेकी अर्जुन पासमानविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो। न्यायाधीश पुष्पराज थपलियाको २६ साउन ०७८ को इजलासले अभियोग दाबी नपुग्ने फैसला सुनाएपछि पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

यसैक्रममा ०७९ वैशाखको स्थानीय तह निर्वाचन हुँदा पासवान उम्मेदवार भएर निर्वाचित पनि भए। वडासदस्य निर्वाचित भएको करिब २३ महिनापछि उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै पासमानलाई कसुरदार ठहर गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट