‘अमला काण्ड’का नामले चर्चित २१ वर्षीया किशोरी र ७९ वर्षीय वृद्धको सम्वन्धको नालिबेली

दमक– बच्चा जन्मेपछि त्यत्तिकै आरोप लगाएर हुन्छ ? मैले २०३२ सालमा परिवार नियोजन गरेको हुँ, मसँग प्रमाण छ।’– उनी भन्छन्।
काठमाडौँ– सामाजिक सञ्जालमा केही दिनदेखि ‘अमला काण्ड’ भन्दै झापाको शिवसताक्षी नगरपालिका–९ का ७९ वर्षीय वृद्ध र वडा नं. ११ की २१ वर्षीया युवतीबीचको सम्वन्ध भाइरल भइरहेको छ। फेसबुक, टिकटक, युट्युवलगायतका सामाजिक सञ्जाल प्लेटफर्ममा कमेन्टदेखि विभिन्न स्टाटसमा अमलाको चर्चा छ।
जानकारी अनुसार ४ वर्षअघि श्रीमानसँग छुट्टिएर माईतीमा वसेकी २१ वर्षीय युवतीले पुस अन्तिम साता एक सन्तान (छोरा) लाई जन्म दिइन्। लामो समयदेखि मानसिक रूपमा अस्वस्थ रहेकी ती युवतीसँग सोधखोज गर्दा बच्चाको बुबा गाउँकै ७९ वर्षीय सङ्ग्रौला थरका वृद्ध रहेको बताइन्।
उनका अनुसार, ती वृद्धले अमला ल्याइदिने, पैसा दिनेजस्ता प्रलोभन देखाएर यौन सम्बन्ध राखेका थिए। युवतीका ६५ वर्षे बुबाका अनुसार, आरोपित वृद्ध उनको घरमा आइरहन्थे। एकपल्ट झिसमिसेमै ती वृद्धले छोरी सुत्ने ओछ्यानको छेउमा बसेर फकाइरहेको देखेको पनि बुबाको भनाई छ।
युवतीका अन्य आफन्तले पनि ती वृद्ध अमला लिएर आउने र युवतीलाई दिएर फकाउने गरेको बताएका छन्। यता युवतीले आरोप लगाएका वृद्ध भने आफूले करिब ५० वर्ष पहिले नै ‘परिवार नियोजन’ गरिसकेकाले आफू बुबा बन्न नसक्ने भन्दै अस्वीकार गर्छन्। युवतीको घरको बाटोबाट हिँड्ने गरेको स्वीकार गरेपनि नवजात शिशुको बुबा आफू नरहेको उनको भनाई छ।
आफूले २०३२ सालमै स्थायी रूपमा परिवार नियोजन गरेको वृद्धको भनाई छ। ‘अहिले बच्चा जन्मेपछि त्यत्तिकै आरोप लगाएर हुन्छ ? मैले २०३२ सालमा परिवार नियोजन गरेको हुँ, मसँग प्रमाण छ।’– उनी भन्छन्।
युवतीका बुबाआमा ज्याला मजदुरी गर्छन। उनीहरका दुई छोराछोरी हुन्। कुलतमा फसेपछि छोरालाई विराटनगरको सुधार केन्द्रमा राखिएको छ। छोरी (पीडित युवती) मानसिकरुपले बिरामी छिन्। उनलाई निरन्तर औषधी खुवाइएको छ। युवतीले पढाइ छोडेर आफूखुसी विवाह गरेकी थिईन। श्रीमान्ले नशालु पदार्थ सेवन गरी कुटपिट गर्न थालेपछि उनी माइत आएकी थिइन्। आउँदा उनी मानसिक रोगी भइसकेकी थिइन्। माइत आएदेखि नै उनले मानसिक रोगको औषधि खान थालेकी हुन्। औषधि नखाएको बेला उनी आक्रोशित हुने, ढुङ्गामुढा गर्ने गर्छिन्। औषधि खाएपछि शान्त हुन्छिन्। श्रीमानतिर युवतीकी ५ वर्षीया छोरी पनि छिन्, उनी बुबासँगै छिन्।
ज्याला मजदुरी गरेर गुजारा गर्ने गरीब परिवार चौविसै घण्टा छोरीको निगरानीमा बस्न नसकेका कारण पीडकले फाईदा उठाएको परिवारजनको गुनासो छ। यो घटनापछि युवतीको परिवार आर्थिक र सामाजिकरुपले थप विक्षिप्त बनेको छ। बुबाको पहिचान हुन नसक्दा नवजात शिशुको न्वारान समेत गर्न नसकेको उनीहरु बताउँछन्।
यही घट्नाको अहिले सामाजिक सञ्जालमा संवेदनहीन बहस भइरहेको छ। सञ्जालमा मिम र भिडिओहरु वग्रेल्ती बनेका छन्। अमलाको तेलको बोतलमा आरोपी वृद्धको फोटो राखेर विज्ञापन गर्नेदेखि ‘शिशुको अनुहार वृद्धसँग ठ्याक्कै मिलेको छ’ भन्न पनि भ्याई सकेका छन्।
पीडित परिवारले इलाका प्रहरी कार्यालयमा उजुरी पनि गरेका छन्। यसपछि एकपल्ट छलफल पनि भएको शिवसताक्षी नगरपालिकाकी उपमेयर एवम् न्यायिक समिति संयोजक नरमाया कार्कीले बताइन्। छलफलमा आरोपित वृद्धले ‘म त्यो बच्चाको बाउ होइन, मैले २०३२ सालमै परिवार नियोजन गरेको’ भन्दै जवाफ दिएको कार्कीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले भने युवतीलाई धरानस्थित परामर्श केन्द्रमा लगिएको र घट्नाको अनुशन्धान भईरहेको बताएका छन्।