भारतमा बेच्न लान ठिक पारिएका दुई महिलाको उद्धार, १ भारतीयसहित ४ जना पक्राउ

वीरगञ्ज– भारतमा बेच्न लान ठिक्क पारिएका दुई महिलालाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१६, भन्सारनजिक एक होटलबाट उद्धार गरेको छ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा रहेको उक्त होटलमा खानतलास गरी प्रहरीले उनीहरुको उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी सुवास भट्टका अनुसार होटलबाट ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्ने तीन जना नेपाली र एक जना भारतीय नागरिक छन्। बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१४ की ३८ वर्षीया मीराकुमारी महतो, महोत्तरी भंगहा नगरपालिका–२ की ३२ वर्षीया सुक्रान्ति चौधरी र ओखलढुंगा देयाले गाउँपालिका– ५ का ३३ वर्षीय दीपेश राई तथा भारतको विहारका ३५ वर्षीय मनेजर रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चारै जनालाई मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी भट्टले जानकारी दिए।